काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन् । बिहीबार बिहान पौने ९ बजे विस्फोट हुँदा घाइते भएकामध्ये ११ जनालाई अस्पताल लगिएको छ । तीन जना सामान्य छन् ।
एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उदयपुरका २४ वर्षीय संजोग मगरसहित ११ जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।
सानदार म:म पसलमा ग्याँस सिलिन्डर पड्किएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए । उनका अनुसार म:म पसलका कामदार र कर्मचारी घाइते भएका हुन् ।
घटनास्थलमा रहेका असई वीरेन्द्रप्रसाद महतोका अनुसार ग्याँस चुहावट भएर विस्फोट भएको हो । ‘भुइँ तलामा रहेको किचनमा भएको ग्याँस विस्फोट हुँदा माथिको भर्याङ झरेको छ,’ उनले भने, ‘एक-दुई कर्मचारी त्यही भर्याङले लागेर पनि घाइते भएका छन् ।’