• Menu

दुर्गा प्रसाईंलाई लक्षित गर्दै अर्थमन्त्रीले भने‑ बैंकबाट लिएको ऋण तिर्नुको विकल्प छैन

नेपाल प्रफिट

२०८० माघ २४, बुधबार ११:२६

दुर्गा प्रसाईंलाई लक्षित गर्दै अर्थमन्त्रीले भने‑ बैंकबाट लिएको ऋण तिर्नुको विकल्प छैन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुको विकल्प नभएको बताएका छन् ।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को पहिलो वार्षिक उत्सवका अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री महतले माफी गर्न सक्ने आर्थिक स्रोत देशको नरहेकाले ऋण माफी नहुने स्पष्ट पारे ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लक्षित गर्दै उनले भने, ‘केही मानिस राजनीतिक निहित उद्देश्य लिएर तिर्नु पर्दैन भन्दै आन्दोलन गरिरहेका छन्, यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर हो ।’

अहिले बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिनेहरूका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरूले ऋण तिर्नुपर्ने अर्थमन्त्री महतले बताए ।

प्रसाईं लामो समयदेखि बैंक तथा वित्तीय संस्थाविरोधी अभियानमा सक्रिय छन् । उनले बैंकले सीमित संख्याका मारवाडीको पक्षपोषण गरिरहेको र आम सर्वसाधारण तथा गरिखाने वर्गमाथि अत्याचार गरिरहेको आरोप लगाउँदै आएका छन् ।