• Menu

अर्थमन्त्री भन्छन्‑ ओली नेतृत्वको सरकारले गरेको आर्थिक बेथितिको बोझ अहिलेको सरकारले उठाउनुपरेको छ

नेपाल प्रफिट

२०८० माघ २४, बुधबार ११:१२

अर्थमन्त्री भन्छन्‑ ओली नेतृत्वको सरकारले गरेको आर्थिक बेथितिको बोझ अहिलेको सरकारले उठाउनुपरेको छ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको आर्थिक बेथितिको बोझ अहिलेको सरकारले उठाउनुपरेको बताएका छन् ।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को पहिलो वार्षिक उत्सवका अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री महतले भने, ‘बेथितिबाट बजेट खर्च भएको थियो, बेथितिलाई थितिमा ल्याउन अझै समय लाग्छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नतृत्वको सरकारले पछि तिर्ने गरेर पहिल्यै खर्च गरेकाले त्यसको सम्पूर्ण दायित्व अहिलेको सरकारले व्यहोर्नु परिरहेको उनको आरोप छ । ओली प्रधानमन्त्री हुँदा एकसाथ ३९६ अस्पताल शिलान्यास भएको उदाहरण पनि उनले दिए ।

मन्त्री महतले हिजोका दिनमा धेरै अनुत्पादक क्षेत्र र आवश्यकताभन्दा ठूला-ठूला संरचनामा खर्च भएको बताए । विगतमा दीर्घकालीन आवश्यकता र प्राथमिकताबिना खर्च हुँदा अहिले समस्या भइरहेको उनको टिप्पणी छ ।

‘तर समग्रमा अर्थतन्त्र लयमा फर्किंदै छ,’ अर्थमन्त्री महतले भने, ‘बाह्य क्षेत्र सकारात्मक छ । आन्तरिक क्षेत्र पनि सकारात्मक हुँदै गएको तथ्यांकले नै देखाएको छ ।’

अर्थतन्त्र विस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या रहेको र त्यसलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्ने उनको अनुमान छ ।

अहिले मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब नाघेको जानकारी दिँदै उनले त्यसलाई खर्च गर्न भने समस्या भएको बताए । आगामी दिनमा त्यो खर्च पनि तीव्ररुपमा बढ्ने उनले दाबी गरे ।

‘पुँजी आएको छ तर त्यसलाई खर्च गर्न समस्या भएको छ । अब आउने दिनमा त्यो खर्च पनि तीव्र रुपमा बढ्छ । किनकि ठेक्का लाग्ने प्रक्रियामा छ,’ उनले भने, ‘तर सरकारको पुँजीगत खर्चले मात्र अर्थतन्त्र चलायमान हुँदैन । त्यो सानो हिस्सा मात्र हो ।’

सरकारको धेरै बजेट सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलबभत्ता र विदेशी ऋणको सावाँब्याजमा खर्च हुने गरेको अर्थमन्त्री महतले जानकारी दिए ।