• Menu

चितवनमा सभापति लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

नेपाल प्रफिट

२०८१ माघ २२, १५:०८

चितवनमा सभापति लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा चितवन जिल्ला अदालतमा पनि दर्ता भएको छ ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिनासम्बन्धी आरोपमा जिल्ला सरकारी वकिल कार्यालय चितवनले मंगलबार लामिछानेसहित १५ जना व्यक्ति र ६ संस्थाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिल कार्यालयका अनुसार सोमबार नै मुद्दा दर्ता गर्ने तयारी गरिएको थियो तर आवश्यक सम्पूर्ण प्रक्रिया पूरा नभएकाले मंगलबार मात्रै दर्ता गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनको अनुसन्धान प्रतिवेदन अनुसार सहारा सहकारीमा ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको पाइएको छ । प्रहरीले विभिन्न बैंक खाता, वित्तीय कारोबार तथा अन्य प्रमाणका आधारमा रकम हिनामिना भएको पुष्टि गरेको बताएको छ ।

यसबाहेक, सहकारीबाट विभिन्न कम्पनीहरूमा गएका रकमसमेत जोड्दा कुल बिगो करिब ५६ करोड २२ लाख ५० हजार रुपैयाँ हुनुपर्ने प्रहरीको निष्कर्ष छ ।

जिल्ला सरकारी वकिल कार्यालयले रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा दर्ता गरेको छ भने अन्य १२ जनाविरुद्ध संगठित अपराध कसुरमा समेत मुद्दा दर्ता गरिएको छ ।

यसअघि पनि लामिछाने विभिन्न सहकारी ठगी प्रकरणमा अदालतबाट धरैटीमा रिहा भइसकेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा उनले ६५ लाख रुपैयाँ धरौटी बुझाएका थिए भने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारी ठगीमा १ करोड धरौटी बुझाएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्