• Menu

पुससम्म सर्वाधिक नाफा कमाउने यी हुन् ५ बैंक

नेपाल प्रफिट

२०८१ माघ ७, १२:२८

पुससम्म सर्वाधिक नाफा कमाउने यी हुन् ५ बैंक

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक विवरणअनुसार ११ बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, नबिल बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक र माछापुच्छ्रे बैंकको नाफा बढेको छ ।

सबैभन्दा धेरै नाफा नविल बैंकले कमाएको छ । नविल बैंकले ६ महिनाको अवधिमा ३ अर्ब २४ करोड ४२ लाख नाफा कमाएको हो । बैंकको नाफा भने १.२९ प्रतिशतमात्र बढेको छ । गत वर्षको साउनदेखि पुससम्ममा नविल बैंकले ३ अर्ब २० करोड ३० लाख नाफा गरेको थियो ।

त्यस्तै ग्लोबल आइएमई बैंकले पनि ६ महिनाको अवधिमा ३ अर्बभन्दा बढी नाफा गरेको छ । गत वर्षको पहिलो ६ महिनामा २ अर्ब ४ करोड २३ लाख नाफा कमाएको ग्लोबल आइएमईले चालु आवको सोही अवधिमा ३ अर्ब ५ करोड ३४ लाख नाफा कमाएको हो । समीक्षा अवधिमा कम्पनीको नाफा ४९.५१ प्रतिशतले बढेको छ ।

तेस्रो धेरै नाफा गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । मेगा बैंकले ६ महिनाको अवधिमा २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५७.१८ प्रतिशत धेरै हो । कम्पनीले गत वर्षको पहिलो ६ महिनामा १ अर्ब ८० करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बढी नाफा कमाउने कम्पनीको चौथो सूचीमा एभरेस्ट बैंक छ । एभरेस्ट बैंकले नाफा २१.१ प्रतिशतले बढाएको छ । समीक्षा अवधिमा एभरेस्ट बैंकको नाफा १ अर्ब ७१ करोड ३१ लाखबाट बढेर २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ नाघेको छ ।

नाफाको पाँचौं सूचीमा एमएमबी बैंक उक्लिएको छ । गत वर्षको ६ महिनाको अवधिमा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ कमाएको एनएमबीले चालु आवको सोही अवधिमा नाफा ४५.६१ प्रतिशतले बढाएर २ अर्ब ३५ लाख पुर्‍याएको छ ।

सबैभन्दा धेरै भने प्रभु बैंकको नाफा ८५.४९ प्रतिशतले बढेको छ । गत वर्षको साउनदेखि पुससम्मको अवधिमा ७२ करोड ३ लाख रुपैयाँ कमाएको प्रभुले चालु आवको सोही अवधिमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ कमाएको हो ।

६ महिनाको अवधिमा नाफामा गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा १ अर्ब ३३ करोड रुपैयाँबराबरको गिरावट आएको छ ।

वाणिज्य बैंकहरुले साउनदेखि पुससम्मको अवधिमा २७ अर्ब ४३ करोड खुद नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको ४.६२ प्रतिशत कम हो । गत वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड रुपैयाँ कमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्