काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको पुससम्मको तथ्यांकअनुसार ६ महिनाको नाफामा गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा १ अर्ब ३३ करोड रुपैयाँबराबरको गिरावट आएको हो ।
वाणिज्य बैंकहरुले साउनदेखि पुससम्मको अवधिमा २७ अर्ब ४३ करोड खुद नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको ४.६२ प्रतिशत कम हो । गत वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड रुपैयाँ कमाएका थिए ।
आर्थिक सुस्तताका कारण साँवाब्याज असुली प्रभावित भएका कारण बैंकहरुको नाफामा गिरावट आएको हो । किस्ता नउठ्दा बैंकहरुले कर्जा नोक्सानी व्यवस्थापनका लागि पैसा छुट्याउनुपर्ने हुन्छ ।
समीक्षा अवधिमा ११ बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ । नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, नबिल बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक र माछापुच्छ्रे बैंकको नाफा बढेको छ ।
सबैभन्दा धेरै प्रभु बैंकको नाफा ८५.४९ प्रतिशतले बढेको छ । त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगाले ५७.८, ग्लोबल आईएमई बैंकले, ४९.५१ र एनएमबी बैंकले ४५.६१ प्रतिशतले नाफा बढाएका छन् ।
त्यस्तै प्राइम कमर्सियल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, कुमारी बैंक र एनआईसी एसिया बैंकको नाफा घटेको छ ।
सबैभन्दा धेरै नाफा एनआईसी एसियाको घटेको छ । यो बैंकको नाफा ९२.०३ प्रतिशतले घटेर १ अर्ब ९० करोड ३८ लाखबाट १५ करोड १७ लाख रुपैयाँमा झरेको छ । त्यस्तै कुमारी बैंकको नाफा ६८.२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६२.१४ प्रतिशत र सिद्धार्थ बैंकको ५३.३६ प्रतिशतले घटेको छ ।