काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज उकालो लागेको छ । होटल, म्युचुअल फन्ड र व्यापारबाहेकका सबै समूह बढेपछि समग्र बजार परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ अंकमा उक्लिएको हो ।
माघ लागेयताको तेस्रो कारोबारमा बजार दुई दिन बढेको छ भने एक दिन घटेको छ । माघ २ गते बुधबार १.८३ अंकले बढेको बजार ३ गते बिहीबार ७.३३ अंकले घटेको थियो ।
बजार बढ्दा आज १७१ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ६८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । ४ कम्पनीको सेयर मूल्यमा कुनै परिर्वतन भएन ।
आज बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीको सूचीमा विन नेपाल लघुवित्त, सामलिङ पावर, नेपाल रिपब्लिक मिडियालगायत छन् ।
आज कारोबार रकम पनि बढेको छ । गत साताको बिहीबार ५ अर्ब ८८ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको बजारमा आज ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँबराबरको कारोबार भएको हो ।