काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताएका छन् । ‘ग्रामीण पर्यटन प्रवर्धनका लागि सिक्लेस महोत्सव’को नारासहित कास्कीको म्याग्दी गाउँपालिका १, सिक्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३०औं वार्षिकोत्सवमा उनले आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको धारणा राखे ।
नेपालमा पर्यटनको अथाह सम्भावना भएकाले पर्यटनबाटै देशको समग्र अर्थतन्त्र चलायमान बनाउन र रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्न सकिने उनले बताए । सिक्लेसमा नयाँ केवलकार निर्माणको चरणमा रहेको र केवलकार निर्माणसँगै त्यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिने पनि उनले जानकारी गराए ।
‘सिक्लेस एउटा आकर्षक पर्यटकीय गन्व्यका रुपमा देश तथा विदेशमा प्रख्यात नै छ । केवलकार निर्माणले सिक्लेसमा नयाँ पर्यटकीय पूर्वाधार थपिनेछ । केवलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्याउनेमात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवर्धन, आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्नेछ,’ उनले भने ।
सिक्लेसदेखि कोरीसम्म बन्ने नयाँ केबलकारका लागि प्रक्रियागत काम सकिइसकेको जानकारी अध्यक्ष ढकालले दिए । केवलकार निर्माणले सो क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ ।
यस्तै उनले पर्यटनका लागि स्थानीय कला र संस्कृतिको संरक्षण आवश्यक रहेको धारणा राखे । कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लबले निर्वाह गरेको भूमिकाको उनले सराहना गरे ।
मेलाको उद्घाटन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पर्यटन आर्थिक विकासको आधार रहेको र पूर्वाधार विकास तथा अन्य सहजीकरणका लागि सरकार सधैं तयार रहेको बताए ।
सिक्लेसमा गुरुङ जातिको बाहुल्य छ । पर्यटकीय गाउँ सिक्लेसबाट नजिकै अन्नपूर्ण र लमजुङ हिमशृंखला देख्न सकिन्छ । कास्कीको उत्तरपूर्वी भेगमा रहेको सिक्लेस पोखराबाट करिब ४० किमी दूरीमा पर्छ ।