चितवन । भरतपुर महानगरपालिका-१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले संघ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रंगशालाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको हो ।
महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हाल १५० मजदुरले दैनिक काम गरिरहेका छन् । दुई दिनपछि कामदार थप गरी २१० पुर्याइने उनले बताए । चाडपर्वको समयमा निर्माणमा केही ढिलाइ भए पनि मजदुर थप गरेर लक्ष्यअनुरुप कामलाई तीव्र बनाइएको छ ।
प्याराफिटको ढलानका लागि डण्डी बाँध्ने, दुईवटै टावरमा पिल्लर राख्ने, नालाको ढकनी बनाउनेलगायतका काम भइरहेको इन्जिनियर आचार्यले बताए । ‘हामीले १५ प्रतिशत हाराहारी काम गरेका छौँ । बजेटको समस्या नभएमा तोकिएको समयमा निर्माण सम्पन्न हुनेछ । हालसम्म निर्माण कम्पनीलाई ६ करोड ६० लाख अग्रिम भुक्तानी गरिएको छ,’ उनले भने ।
महानगर प्रमुख रेनु दाहालका अनुसार रंगशालाका लागि प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको छ । संघीय सरकारले चालु आर्थिकमा विनियोजन गरेको २५ करोड भने आइनसकेको उनले बताइन् । सहरी विकास मन्त्रालयबाट फाइल अर्थ मन्त्रालयमा पुगिसकेकाले यथाशीघ्र बजेट निकासा हुने उनको विश्वास छ ।
‘दुई महिनाअघि अर्थ मन्त्रालयमा फाइल पुगेको छ । अर्थमन्त्री र सचिवसँग यो विषयमा छलफल भइसकेको छ । केही दिनमा बजेट निकासा हुने आश्वासन पाएको छु,’ प्रमुख दाहालले भनिन् । प्रदेश र संघीय सरकारबाट बजेट निकासा समयमा हुने प्रतिबद्धता आएकाले बजेटका कारण काम नरोकिने उनले बताइन् ।
आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउन्डेसनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र संघीय सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाले रंगशाला निर्माण अगाडि बढाएको हो । रंगशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले दुईवटा भीआईपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माण सुरु गरेको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले यसअघि पाँच हजार क्षमताको प्याराफिट निर्माण गरिसकेकाले यो काम सकिएपछि रंगशालाको कुल क्षमता १५ हजार पुग्ने महानगरका सिनियर डिभिजनल इन्जिनियर आचार्यले बताए । २०८१ असार २३ गते ७८ करोड ५० लाखमा ३० महिनाभित्रमा काम सक्नेगरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको छ । सम्झौता मितिभन्दा अगाडि काम सक्ने निर्माण कम्पनीको दाबी छ । रंगशाला बनेसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ खेल्न सकिनेछ ।
प्रमुख दाहालले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वयमा बन्न लागेको रंगशालालाई यथाशीघ्र सम्पन्न गरी खेलकुदका प्रतियोगिता सञ्चालन गर्ने महानगरको योजना रहेको बताइन् ।