काठमाडौँ । नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कोषको सोमबार सम्पन्न साधारणसभाले गत वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ८६ करोड ९० लाखबाट ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।
साधारणसभाले कोषका अध्यक्ष प्रा. डा. सूर्यबहादुर थापाले पेस गरको गत वर्षको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । उनले कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब दुई अर्ब सात करोड संकलन भएकोमा गत आर्थिक वर्षमा १२.१९ प्रतिशतले बढेर दुई खर्ब २६ अर्ब ८३ करोड पुगेको जानकारी दिए ।
त्यस्तै, चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा संकलित रकम दुई खर्ब ४२ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । कोषले गत आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब सात करोड ६४ लाख कुल आम्दानी गरेकोमा सञ्चालन र अन्य खर्च कटाएर करपछिको खुद नाफा एक अर्ब १५ करोड ८७ लाख रुपैयाँ छ । उक्त खुद नाफा रकमबाट २८ करोड ९६ लाख रकम जगेडा कोषमा राखी बाँकी ८६ करोड ९० लाखबाट ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गरिएको हो ।
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको सञ्चालन र व्यवस्थापनमा सुधारका लागि विभिन्न रणनीति अघि सारिएको बताए । ‘कोषले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आधुनिक प्रणालीमार्फत सेवा सहज बनाउने योजनालाई प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘साथै अनावश्यक बैंक खाता कटौती गर्दै वित्तीय व्यवस्थापनलाई सरल र पारदर्शी बनाउने कार्य भइरहेको छ ।’