काठमाडौं । माघका लागि १८ वाणिज्य बैंकले ब्याजदर स्थिर राख्दा दुईवटा बैंकले घटाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर स्थिर राख्दा नेपाल एसबीआई बैंक र कृषि विकास बैंकले घटाएका हुन् ।
मुद्दति निक्षेपमा कात्तिकदेखि ६ प्रतिशत ब्याजदर स्थिर राखेको नेपाल एसबीआई बैंकले माघका लागि ५.५ प्रतिशतमा झारेको छ । त्यस्तै मंसिरमा भन्दा पुसमा बढाएको कृषि विकास बैंकले माघका लागि घटाएको छ । कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा मंसिरमा ५.५३ र पुसमा ५.५७ प्रतिशत ब्याज दिएको थियो । माघ फेरि ५.५१ प्रतिशतमा झारेको हो ।
माघका लागि सबैभन्दा धेरै ६.६ प्रतिशत ब्याज एनआईसी एसिया र एनएमबी बैंकले दिएका छन् । त्यस्तै माघका लागि घटाएपछि एसबीआई बैंकको सबैभन्दा कम ५.५ प्रतिशतमा झरेको छ ।
अरु सबै बैंकको ब्याजदर स्थिर छ । आर्थिक गतिविधि बढ्न नसकेका कारण लगानीयोग्य रकम थुप्रिएपछि बैंकहरुले ब्याजदर न्यून विन्दुमा झारेका छन् । केही महिनादेखि धेरै बैंकहरुले ब्याजदर घटाउँदै आएका छन् भने कतिपयले स्थिर राखिरहेका छन् ।