काठमाडौं । नेपाल-भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक सम्पन्न भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले काठमाडौंको चन्द्रागिरीमा बैठक आयोजना गरिएको हो । बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए ।
मञ्चको बैठकमा सहभागीलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार र व्यावहारिक समाधान खोजेर अघि बढ्नुपर्ने बताए ।
उनले गैरभन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस) को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसँग भारतका सहर जोड्ने र नेपालका जलविद्युत तथा अन्य निमार्णजन्य विकासका लागि आवश्यक विस्फोटक पदार्थहरू सहज आपूर्ति गर्न आवश्यक भएको धारणा राखे ।
यस्तै उनले मुन्द्रा (गुजरात), धामरा (ओडिसा) र जवाहरलाल नेहरू (मुम्बई) लगायतका भारतीय बन्दरगाहमा नेपालको पहुँच विस्तारका विषय पिन उठाए ।
नेपाल-भारत वाणिज्य सचिवस्तरीय बैठककै अंगकै रुपमा रहेको जेबीएफ बैठकमा नेपाल र भारतका प्रतिनिधिले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार विकासलगायतका विषयमा छलफल गरेका छन् ।
यस्तै संयुक्त बैठकमा जलविद्युत र नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायतका परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवर्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिको अनुसन्धान र व्यवसायीकरणको सहकार्य, डिजिटल प्रविधि, स्टार्टअप सहयोगलगायतका विषयमा छलफल गरी सहजीकरण गर्ने सहमति भएको छ ।
कार्यक्रममा दुवै देशले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
दोस्रो बैठकमा भएका सहमतिका विषय नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले हस्तान्तरण गरका हुन् ।
मञ्चको बैठकपछि आयोजित (जेबीएफ) सदस्य तथा दुवै देशका सरकारी निकायबीचको अन्तर्क्रियामा उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबीएफको मिटिङमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले दुवै देशबीच आयात–निर्यातमा देखिएका समस्याको समाधान सहज ढंगले हुने गरी काम गर्नुपर्ने धारणा राखे ।
उद्योग सचिव कार्कीले मञ्चको बैठकबाट प्रस्तुत भएका विषयको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताए । भारतका वाणिज्य सचिव सुनिल बर्थवालले जेबीएफमा उठेका एजेन्डा कार्यान्वयनका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले जेबीएफ बैठकमा भएका सहमति कार्यान्वयनका लागि दुवै पक्षले पहल गर्नुपर्ने बताए ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले दुई देशबीचका आर्थिक मुद्दामा सहजीकरणका लागि यो बैठक महत्वपूर्ण रहेका बताए । उनले यहाँ उठेका विषयमा सहजीकरणका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल र भारत बीच लगानी र व्यापारको व्यापक सम्भावना रहेको र त्यसबाट लाभ लिन आवश्यक सहजीकरण हुनुपर्ने धारणा राखिन् ।
यस्तै भारतीय पक्षबाट एन. सुनिल कुमारले नेपाल र भारतबीच सडक, रेल र हवाई कनेक्टिभिटीमा सुधार भइरहेकोले आउने दिनमा थप सहजता थपिने बताए । मञ्चको अर्को बैठक भारतको नयाँ दिल्लीमा आयोजना गर्ने सहमति भएको छ ।