काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ३.४ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको चालु आवको साउनदेखि असोजसम्मको तथ्यांकमा अर्थतन्त्र ३.४ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको हो ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) गत आव २०८०/८१ को पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ३.४ प्रतिशतले विस्तार भएको कार्यालयले जनाएको छ । कार्यालयले गत आवको अन्तिम चौमासको तुलनामा भने अर्थतन्त्र ०.२ प्रतिशतले मात्र विस्तार हुने अनुमान गरेको छ ।
गत आवको अन्तिम चौमासमा आर्थिक वृद्धिदर ३.२ प्रतिशत हासिल भएको थियो । सरकारले चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।
कार्यालयले अर्थतन्त्रका १८ क्षेत्र गणना गरी जीडीपीको अनुमान गर्ने गर्छ । पहिलो त्रैमासमा विद्युत् र ग्यासतर्फ सबैभन्दा उच्च दरले वृद्धि भएको कार्यालयले जनाएको छ । यो क्षेत्रको वृद्धिदर २१.४ प्रतिशत छ ।
आवास तथा भोजन क्षेत्रको वृद्धिदर ६.३ प्रतिशत रहने अनुमान छ । त्यस्तै वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि दर ५.७ प्रतिशत रहने अनुमान कार्यालयले गरेको छ । निर्माण क्षेत्र भने ०.३ प्रतिशतले ऋणात्मक हुने अनुमान छ । निर्माण क्षेत्र कोरोना महामारीयता निरन्तर संकुचनमा छ ।