काठमाडौँ । चिनियाँ विद्युतीय सवारी साधन बीवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले कर छलेको पुष्टि भएको छ । साइमेक्सले आयात गरेको विद्युतीय कार बीवाइडी ई-सिक्स मोडलमा कर छली भएको राजस्व न्यायाधिकरण काठमाडौँले ठहर गरेको हो ।
न्यायाधिकरणले साइमेक्सले वायर हाउस (ल्हासा)को शुल्क गाडीमा नजोडी न्यून मूल्य घोषणा गरेर प्रतिकार २ लाख रुपैयाँ कर छली गरेको जनाएको छ ।
साइमेक्सले वायर हाउसको प्रतिकार २ लाख शुल्क नजोडी भन्सार महसुल, मूल्य अभिवृद्धि कर र सडक निर्माण दस्तुर निर्धारण भएकाले भन्सार ऐनबमोजिम जरिवाना गरेर रकम असुल्नुपर्ने न्यायाधिकरणको फैसलामा उल्लेख छ ।
कम्पनीले सन् २०२१ अक्टोबर १ देखि २०२२ अक्टोबर ३० सम्म रसुवा भन्सारबाट १० हजार अमेरिकी डलरका दरले २० वटा विद्युतीय बीवाईडी ई-सिक्स आयात गरेको थियो । विद्युतीय सवारी साधनको ब्याट्री चार्जर, एसी तथा चार्जर र एसीसँग सम्बन्धित अन्य सामग्री गाडीसँगै जोडिएर आए पनि कम्पनीले त्यसको मूल्य गाडीको मूल्यमा नजोडेर कर छली गरेको न्यायाधिकरणले जनाएको छ ।
भन्सार विन्दुसम्म आइपुग्दा लागेको कारोबारका सम्पूर्ण खर्च सवारी साधनको लागत मूल्यमा समावेश गरी अधिकतम खुद्रा मूल्य घोषणा गर्नुपर्नेमा साइमेक्सले लुकाएको उल्लेख गर्दै भन्सार जाँचपास कार्यालयले एक करोड १२ लाख थप रकम जरिवाना गराउने निर्णय २०८० पुस १३ मा गरेको थियो ।
कार्यालयको निर्णयविरुद्ध साइमेक्सले न्यायाधिकरणमा पुनरावेदन गएको थियो । सोही पुनरावेदनमाथि फैसला गर्दै न्यायाधिकरणले ब्याट्री चार्जलगायतका सामग्रीको अलग्गै भन्सार तिरेको तर वायर हाउस चार्जको हकमा मूल्य नजोडेको ठहर गर्दै सो रकम मात्र असुल गर्नुपर्ने फैसला गरेको हो ।
कार्यालयले थप कर र जरिवानासहित एक करोड १२ लाख साइमेक्सले तिर्नुपर्ने निर्णय गरे पनि न्यायाधिकरणले वायर हाउसको प्रतिकार २ लाखका दरले २० वटाको ४० लाख र त्यसमा लाग्ने कर र जरिवानासहितको रकम तिर्नुपर्ने फैसलामा उल्लेख छ ।
साइमेक्सले भने कस्ट सिटमा उल्लेख गरेको वायर हाउस खर्च नियमित प्रकृतिको नभएकाले कर तिर्नु नपर्ने दाबी गरेको थियो ।