• Menu

आयात प्रतिस्थापन र निर्यात प्रवर्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल

नेपाल प्रफिट

२०८१ पुस २२, २०:१२

आयात प्रतिस्थापन र निर्यात प्रवर्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् ।

नेपाल निर्यात परिषद्को २७औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नुपर्ने धारणा राखे ।

‘सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने नीतिअनुरुप काम गर्नुपर्छ,’ उनले भने, ‘आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्छ, निर्यातका लागि पनि सोही अनुरुप नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । यसो गर्न सकेसरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुन्छ ।’

अध्यक्ष ढकालले निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले प्रतिबद्धता व्यक्त गरेअनुसार समयमा निर्यातमा अनुदान दिन पनि आग्रह गरे । व्यवसायीलाई प्रदान गरिने सम्मानबाट समेत प्रोत्साहन गर्न सकिने धारणा उनको छ । यसका लागि व्यावसायिक महत्वपूर्ण व्यक्ति (सीआईपी) दिने दिन घोषणा गर्न र व्यवसायीलाई दिने मर्यादामा ध्यान दिन ढकालले अनुरोध गरे ।

निर्यात प्रवर्द्धन र विदेशी लगानीका लागि विदेशस्थित नेपाली नियोगहरुलाई पनि नेपालको निर्यात व्यापारका लागि देशअनुरुप लक्ष्य तोक्न र त्यसअनुरुपको मूल्यांकन गर्न पनि सरकारलाई उनले आग्रह गरे ।

अध्यक्ष ढकालले नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकको अवस्थाबाट विकासोन्मुखमा स्तरोन्नति हुने हुँदा या त नेपाल त्यसका लागि तयार रहनुपर्ने या निश्चित समय थप गर्नका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रले उठाएको चासोप्रति सरकार गम्भीर रहेको बताए । उनले निजी क्षेत्रलाई प्रतिस्पर्धात्मक क्षमता बढाउन आग्रह गरे ।