• Menu

मस्तिष्कघातको उपचार निःशुल्क गर्ने तयारीमा सरकार

नेपाल प्रफिट

२०८१ पुस २२, १७:२१

मस्तिष्कघातको उपचार निःशुल्क गर्ने तयारीमा सरकार

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताएका छन् । कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले त्यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताए ।

कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको पनि उनले जानकारी दिए । कान्ति बाल अस्पतालमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको विषयमा आफू जानकार रहेको र मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आरपी विच्छाले कान्ति अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानका रुपमा विकास गर्न आवश्यक रहेको धारणा राखे । त्यस्तै अस्पतालका निर्देशक डा. पंकज रायले अस्पतालमा हाल जनशक्ति र भौतिक पूर्वाधारमा कमी रहेकाले सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।

देशको एकमात्र सरकारी केन्द्रीय तथा रिफरल बाल अस्पताल कान्ति बाल २०१९ पुस २२ गते स्थापना भएको हो । तत्कालीन समयमा ५० शय्याबाट सुरु भएको यस अस्पतालमा हाल तीन सय ७२ शय्या छन् । अस्पतालले आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८० हजार बालबालिकाको उपचार गरेको जनाएको छ ।