काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको वचत अनियमितता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार मुद्दा दर्ता गराएको हो ।
स्वर्णलक्ष्मीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हेमन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ ।
त्यस्तै पूर्वकोषाध्यक्ष सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नवीन अछामी, पूर्वअध्यक्ष कल्पनाकुमारी श्रेष्ठ र पूर्वसञ्चालक समिति सदस्य राजु बराललाई पनि प्रतिवादी बनाइएको छ ।
जिबी ग्रुप अफ कम्पनिजका सञ्चालक विशाल तामाङ, असरफ अली सिद्धिकी, नेचर नेष्ट प्रालिका सञ्चालक अनन्त बाबु राई, खिमानन्द कँडेल, बल्लभ नेपाल, निर्देशक गोकुल श्रेष्ठ, देव दीप एग्रिकल्पचर एन्ड एनिमल हस्वेन्ड्री फार्मका सञ्चालक भुपेन्द्र राई र भवती बालुवाखानी प्रालिका सञ्चालक मुखिया कान्छा गुरुङविरुद्ध मुद्दा दर्ता भएको छ ।
गोर्खा हर्वल प्रोडक्सन प्रालिका सञ्चालक जनक भट्टराई, स्पिङ उड रियल इस्टेट प्रालिका सञ्चालक भगवती बम्जन, न्यु सुलक्स अफसेट प्रिन्टर्सका सञ्चालक देवकुमार तामाङ, गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, सारेगामा रेकर्ड प्रालिका सञ्चालक किरण पुडासाईं, गोरखा ग्रुप अफ कम्पनीका सेयरधनी पुष्पराज पौडेल र सुपर सिटी इन्टरप्राइजेजका सेयर सदस्य कृष्णबहादुर पोखरेललाई प्रतिवादी बनाइएको छ ।
सहकारी ठगी आरोपमा हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा थुनछेक बहस चलिरहेको छ ।