काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र भुक्तानी सेवाप्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रालि) बीच ‘स्मार्ट क्यूआर’ मार्फत भुक्तानी सेवा सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापश्चात हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीले क्यूआरमार्फत भुक्तानी लिन स्मार्ट क्यूआरको सुविधा उपयोग गर्न सक्नेछन् ।
क्यूआर कोडका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड ईएमभी स्ट्याान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्ट्याान्डर्डअन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो ।
लेनदेन सेवा प्रालिको कार्यालयमा आयोजित कार्यक्रममा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र हाम्रो पेका प्रमुख कार्यकारी अधिकृत शिशिर पोखरेलले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेका छन् ।
स्मार्ट क्यूआरमार्फत हुने कारोबारबापतको रकम मर्चेन्टको खातामा तत्कालै फस्र्योट हुने भएकाले यस सेवाको सुरुवातपश्चात् हाम्रो पे का प्रयोगकर्तालगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास छ ।