• Menu

कैलालीमा श्रमजीवी पत्रकार संघ गठन, अध्यक्षमा ठकुरी

नेपाल प्रफिट

२०८१ पुस २१, १५:५८

कैलालीमा श्रमजीवी पत्रकार संघ गठन, अध्यक्षमा ठकुरी

कैलाली । कैलालीमा श्रमजीवी पत्रकार संघ गठन गरिएको छ । श्रमजीवी पत्रकारहरुको हकहितका लागि आवाज उठाउने उद्देश्यले आइतबार मीन ठकुरीको नेतृत्वमा समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा वीरेन्द्र भट्ट, उपाध्यक्ष (पिछडिएको क्षेत्र) मा अंकुश कुँवर, महिला उपाध्यक्षमा निर्मला शाही, सचिवमा सुरेन्द्र ताम्राकार, सहसचिवमा धुर्व ओझा, सहसचिव (समावेशी) मा रञ्जना बिसी र कोषाध्यक्षमा पुष्कर पौडेल रहेका छन् ।

यसैगरी समितिका सदस्यहरुमा राजकुमार साउद, शारदा फुलारा, प्रेम चौधरी, शान्तिप्रसाद जोशी, महादेव गिरी, प्रेम ताडी र हरिश भट्ट रहेका छन् । समिति गठनपश्चात बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

समितिले मुख्य रुपमा अर्धवार्षिक बुलेटिन निकाल्ने निर्णय गरेको छ । बुलेटिनमा जिल्लाका श्रमजीवी पत्रकारले लेखेका समाचार तथा लेखरचना प्रकाशित गरिने समितिका अध्यक्ष ठकुरीले बताए ।

बुलेटिनमा लेखरचना तथा समाचार प्रकाशित गर्दा त्यसबापतको रकम सम्बन्धित लेखकलाई प्रदान गरिने उनले जानकारी गराए । जसले कैलालीमा काम गरिरहेका श्रमजीवी पत्रकारहरुलाई केही हदसम्म भए पनि जीविकोपार्जनमा सहज हुने उनको ठहर छ ।

‘यहाँ धेरै श्रमजीवि पत्रकार छन्, मेहनत गरेर समाचार लेखिरहेका हुन्छन् तर पारिश्रमिक पाइरहेका हुँदैनन्,’ उनले भने, ‘त्यस्ता श्रमजीवी पत्रकारको हकहितमा बोल्नुका साथै उनीहरुलाई समाचार लेखनप्रति उत्प्रेरणा जगाउने उद्देश्यले बुलेटिन निकाल्ने निर्णय गरेका हौँ ।’

समितिले निरन्तर श्रमजीवि पत्रकारहरुका लागि काम गर्ने उनले बताए । श्रमजीवी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले संगठन  विस्तार अभियान अब देशभर द्रुत गतिमा अघि बढ्ने बताए । ‘श्रमजीवी पत्रकारहरुको वास्तविक संगठनको अभावको पूर्ति श्रमजीवी पत्रकार संघले गर्नेछ,’ उनले भने ।