• Menu

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

नेपाल प्रफिट

२०८१ पुस २१, १२:४९

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौँबाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुन सकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँबाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुन सकेको छैन ।

काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौँबाट सीधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजिबिलिटीका कारण उडान हुन नसकेको बताए । तराई क्षेत्रमा बाक्लो हुस्सुका कारण विमानस्थल ढिलो गरी खुल्ने गरेको उनले जानकारी दिए ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।