काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुला भएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।
कम्पनीको सेयर अंकित मूल्य १ सयका दरले आवेदन दिन सकिनेछ । कुमारी क्यापिटलका अनुसार आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । पुस २१ गते आइतबार १० बजेदेखि पुस २४ गते साँझ ५ बजेसम्म कम्पनीको सेयरमा आवेदन दिन सकिनेछ ।
कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ । यो सूचकले आफ्नो दायित्व पूरा गर्न कम्पनी मध्यम स्तरको रहेको जनाउँछ ।