काठमाडौं । बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले गलत मनसायका साथ केही मिडियामा प्रकाशित समाचारबाट भ्रममा नपर्न आग्रह गरेको छ । कम्पनीले नियमित परीक्षणका क्रममा अपनाइने प्रक्रियाका विषयमा सत्यतथ्य नबुझी सर्वसाधारणमा भ्रम सिर्जना नगर्न पनि सम्बन्धित सबैमा आग्रह गरेको छ ।
केवलकार कम्पनीले दैनिक सञ्चालनका क्रममा अपनाइने प्रोटोकलअनुसार अत्याधुनिक उपकरणहरूको जाँच तथा आवश्यक सर्भिसिङ गरिरहेको जनाएको छ । टावरहरूको प्लाटफर्म र लाइन सिभमा सामान्य त्रुटी भेटिएपछि यात्रु नचढाईकन जाँच गरिएको कम्पनीले स्पष्ट पारेको छ ।
जाँचका क्रममा रोपलाई अस्थायी रूपमा प्लाटफर्म र लाइन सिभबाट निकालिएको अवस्थामा देखिएको दृश्यलाई ‘डिब्बा चुँडिएको’ वा ‘रोप चुँडिएको’ भन्दै भ्रम सिर्जना गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
परीक्षणका क्रममा डिब्बामा कुनै यात्रु नरहेको र कुनै दुर्घटना वा क्षति नभएको कम्पनीले स्पष्ट पारेको छ । ‘यस्तो प्रक्रिया नियमित परीक्षणका क्रममा हुने सामान्य प्रक्रिया हो,’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।
बन्दीपुर केवलकार सामुदायिक उद्यमको नमुना भएको, यो सधैं सुरक्षित र विश्वसनीय सेवामा केन्द्रित रहेको तथा यात्रुको सुरक्षा र विश्वास कायम राख्न प्रतिबद्ध रहेको जनाइएको छ ।
यस प्रकारका भ्रमले यात्रुमा अनावश्यक त्रास उत्पन्न गराउन सक्ने भएकाले यथार्थ सूचना प्रवाह गर्न सञ्चारमाध्यम लगायत सबै सरोकारवाला पक्षलाई कम्पनीले आग्रह गरेको छ ।