काठमाडौं । कर्णाली प्रदेश भ्रमण गर्ने पर्यटकको संख्या २३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार कर्णाली भित्रिने पर्यटकको संख्या २३.४० प्रतिशतले वृद्धि भएको हो ।
आव २०७९/८० मा ५ हजार २५६ बाह्य पर्यटकले कर्णाली भ्रमण गरेकोमा आव २०८०/८१ मा ६ हजार ४८६ जनाले भ्रमण गरेका छन् ।
भारत, चीन र तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्या क्रमशः २३.४९ प्रतिशत, १५.७७ प्रतिशत र २४.८४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । रारा, से-फोक्सुन्डो, कुपिण्डे, स्यार्पु, बुलबुले ताल, काँक्रेविहार, पचाल झरना, सिँजा सभ्यता, पञ्चकोशी ज्वाला क्षेत्र, दुल्लुलगायतका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक रुपले महत्वपूर्ण पर्यटकीय क्षेत्र हुन् ।
गत वर्ष कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८३.९३ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । २०८१ असारसम्म कर्णालीमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ४७५ तथा शाखारहित बैंकिङ संख्या ३० पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) ३.३९ प्रतिशत रहेको अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर १.९६ प्रतिशत रहेको संशोधित अनुमान छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान ४.२८ प्रतिशत छ ।
आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन २०७६ (प्रथम संशोधन, २०७९ सहित) अनुसार नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले गत वर्षको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार पारेको हो ।
सल्यान, कालिकोट, दैलेख र सुर्खेतबाट स्थलगत तथा रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, जाजरकोट र हुम्लाबाट गैरस्थलगत रुपमा कृषि, उद्योग, सेवा, पूर्वाधार विकास लगायतका अर्थतन्त्रका प्रमुख क्षेत्रको आर्थिक वर्ष २०८०/८१ को वार्षिक जिल्लागत तथ्यांक संकलन तथा प्रशोधन गरी विश्लेषण गरिएको राष्ट्र बैंकले जनाएको छ ।