काठमाडौं । कर्णाली प्रदेशका उद्योगले क्षमताको करिब आधा मात्र उत्पादन गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४८.५१ प्रतिशत छ ।
अध्ययनअनुसार कर्णाली प्रदेशका उद्योगको उत्पादन क्षमता घटेको हो । अघिल्लो वर्ष यहाँका उद्योगको उत्पादन क्षमता ५२.२९ प्रतिशत थियो ।
प्लास्टिकजन्य उत्पादनसम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी सतप्रतिशत छ भने अन्न तथा पशुदाना उत्पादन गर्ने उद्योगअन्तर्गत पिठो उत्पादन गर्ने उद्योगको उपयोग क्षमता सबैभन्दा कम १५ प्रतिशत छ । कर्णाली प्रदेशमा ३८ हजार २८४ उद्योग दर्ता भएका छन् ।
गत वर्षमा औद्योगिक कर्जा अघिल्लो वर्षको तुलनामा ३.३३ प्रतिशतले वृद्धि भएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६.९५ प्रतिशत हिस्सा उद्योग क्षेत्रले ओगटेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) ३.३९ प्रतिशत रहेको अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा यस्तो वृद्धिदर १.९६ प्रतिशत रहेको संशोधित अनुमान छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान ४.२८ प्रतिशत छ ।
आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन २०७६ (प्रथम संशोधन, २०७९ सहित) अनुसार नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले गत वर्षको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार पारेको हो ।
सल्यान, कालिकोट, दैलेख र सुर्खेतबाट स्थलगत तथा रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, जाजरकोट र हुम्लाबाट गैरस्थलगत रुपमा कृषि, उद्योग, सेवा, पूर्वाधार विकास लगायतका अर्थतन्त्रका प्रमुख क्षेत्रको आर्थिक वर्ष २०८०/८१ को वार्षिक जिल्लागत तथ्यांक संकलन तथा प्रशोधन गरी विश्लेषण गरिएको राष्ट्र बैंकले जनाएको छ ।