• Menu

कर्णाली प्रदेशमा तरकारी खेतीमा ३६ प्रतिशतको वृद्धि, कोदो र फापर खेतीमा घट्यो उत्साह

नेपाल प्रफिट

२०८१ पुस १६, १६:१८

कर्णाली प्रदेशमा तरकारी खेतीमा ३६ प्रतिशतको वृद्धि, कोदो र फापर खेतीमा घट्यो उत्साह

काठमाडौं । कर्णाली प्रदेशमा तरकारी फलफूल खेतीमा उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार कर्णाली प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.९४ प्रतिशतले बढेको छ ।

त्यसमा पनि तरकारी बालीले ढाकेको क्षेत्रफल ३६.४० प्रतिशत बढेर १८,९१९ हेक्टर तथा बागबानीले ढाकेको क्षेत्रफल ५.९८ प्रतिशतले बढेर ५,०८७ हेक्टर पुगेको हो । प्रमुख बालीमध्ये समीक्षा वर्षमा धान र मकै बालीले ढाकेको क्षेत्रफल क्रमशः ८.४८ प्रतिशत र २.१२ प्रतिशतले बढेको छ भने गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफल क्रमशः ०.९७, २८.१६, ३३.३० र २३.०१ प्रतिशतले घटको छ ।

गत वर्ष कर्णालीमा समग्र कृषि बालीको उत्पादन ६.७९ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीभित्र पर्ने प्रमुख कृषि बालीमा धान र गहुँको उत्पादन क्रमशः १२.०४ प्रतिशत र ०.४३ प्रतिशतले वृद्धि भएको छ भने मकै, कोदो, जौ तथा फापरको उत्पादनमा क्रमशः ७.६१, १९.८७, १८.९८ र ८.४६ प्रतिशतले कमी आएको छ ।

गत वर्ष कर्णाली प्रदेशमा दुध उत्पादन ७.८२ प्रतिशतले बढको छ । त्यस्तै मासु, माछा र अण्डा उत्पादनमा क्रमशः ६.५८ प्रतिशत, ३.३४ र ०.९० प्रतिशतले वृद्धि भएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ९.१२ प्रतिशत हिस्सा ओगटेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा १.७१ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) ३.३९ प्रतिशत रहेको अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा यस्तो वृद्धिदर १.९६ प्रतिशत रहेको संशोधित अनुमान छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान ४.२८ प्रतिशत छ ।

आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन २०७६ (प्रथम संशोधन, २०७९ सहित) अनुसार नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले गत वर्षको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार पारेको हो ।

सल्यान, कालिकोट, दैलेख र सुर्खेतबाट स्थलगत तथा रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, जाजरकोट र हुम्लाबाट गैरस्थलगत रुपमा कृषि, उद्योग, सेवा, पूर्वाधार विकास लगायतका अर्थतन्त्रका प्रमुख क्षेत्रको आर्थिक वर्ष २०८०/८१ को वार्षिक जिल्लागत तथ्यांक संकलन तथा प्रशोधन गरी विश्लेषण गरिएको राष्ट्र बैंकले जनाएको छ ।