काठमाडौं । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकको रूपमा मनाउने उद्घोष गरेका छन् ।
नेपाल टुरिजम बोर्डको २६औँ वार्षिकोत्सव समारोहमा मंगलबार मन्त्री पाण्डेले सन् १९९८ मा पहिलो पटक नेपाल पर्यटन वर्ष मनाएको स्मरण गरे । ‘सन् २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि कार्यविधि अभावमा त्यो पूरा हुन सकेन,’ उनले भने, ‘सरकारले अब सन् २०२५ देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउनेछ ।’
मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताए । उनले नेपालको पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दै सरकारले त्यसको तयार गरिरहेको जानकारी दिए ।
सार्वजनिक–निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्रवर्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन र डिजिटल मार्केटिङमा जोड दिन उनले पर्यटन बोर्डलाई निर्देशन दिए ।