काठमाडौं । सामाजिक सुरक्षा कोषको सञ्चालक समितिमा पुन: नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोषको सञ्चालक समितिमा पुस १२ देखि लागू हुनेगरी महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलाई नियुक्त गरेको हो ।
महासंघबाट रोजगारदाताको तर्फबाट प्रतिनिधित्व गरिरहेका चन्द्रप्रसाद ढकाल महासंघको अध्यक्ष भएपछि गत वर्ष मंसिर पहिलो साता श्रममन्त्री शरतसिंह भण्डारीले कुनै पनि रोजगारमूलक संस्थामा नरहेका आफ्ना नातेदार राजनसिंह भण्डारीलाई नियुक्त गरेका थिए ।
मन्त्रालयका सचिव कोषको सञ्चालक समितिको अध्यक्ष हुने प्रावधान छ । सदस्यहरू भने मन्त्रीस्तरीय निर्णयबाट नियुक्त हुने व्यवस्था छ । १३ सदस्यीय सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहन्छन् ।
त्यस्तै ट्रेड युनियनबाट एक महिलासहित तीन जना र रोजगारदाताका तर्फबाट पनि एक महिलासहित तीनको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था सामाजिक सुरक्षा कोष ऐनमा छ । कोषका कार्यकारी निर्देशक समितिको सदस्य सचिव रहन्छन् ।
तर, मन्त्री भण्डारीले रोजगारदाताको तर्फबाट देशकै सबैभन्दा ठूलो उद्योगी व्यवसायीहरुको संस्था उद्योग वाणिज्य महासंघको प्रतिनिधिको सट्टामा कुनै पनि संस्थामा आबद्ध नभएका व्यक्ति नियुक्त गरेपछि असन्तुष्टि चुलिएको थियो ।
सञ्चालक समितिमा महासंघको प्रतिनिधित्व नभएपछि २०८१ मंसिर ११ मा सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा कोषले आयोजना गरेको बृहत् कार्यक्रममा ट्रेड युनियनहरुले सहभागिता नै जनाएका थिएनन् । त्यसले पनि मन्त्रालय दबाबमा परेको थियो ।
कोषमा हाल रोजगारदाताका तर्फबाट महासंघबाट श्रेष्ठ, नेपाल उद्योग परिसंघबाट गोकुल भण्डारी र होटल एसोसिएसन नेपालबाट समिका बुढाथोकी सदस्य छन् । त्यस्तै ट्रेड युनियनका तर्फबाट जगतबहादुर सिंखडा, वेदनिधि निराला भट्टराई र सुनिता थापाको प्रतिनिधित्व छ ।
नेपाल उद्योग वाणिज्य महासंघमा १२५ जिल्ला तथा नगर, १२४ वस्तुगत, १ हजार ७९३ एसोसिएट र २० वटा द्विदेशीय चेम्बर सदस्य छन् । जिल्ला तथा नगर र वस्तुगतमा आबद्ध व्यवसायीको संख्या ठूलो छ । तर, महासंघबाटै कोषमा प्रतिनिधित्व नहुँदा प्रश्न उठेको थियो । श्रम मन्त्रालयको यसपटक नेतृत्व पाएपछि भने मन्त्री भण्डारीले विगतको त्रुटी सच्याएका छन् ।