काठमाडौं । वचत निक्षेप एक वर्षको अवधिमा ३५ प्रतिशतले बढ्दा मुद्दती निक्षेप भने करिब २ प्रतिशतले मात्र बढेको छ । बैंक तथा वित्तीय संस्थाहरु (क, ख र ग) ले मुद्दती निक्षेपमा दिने ब्याज तीव्र दरले घट्दा वचत खातामा निक्षेप राख्ने क्रम बढेको हो ।
२०८० कात्तिक मसान्तसम्म १६ खर्ब २ अर्ब २८ करोड रुपैयाँ रहेको वचत निक्षेप २०८१ कात्तिक मसान्तसम्ममा ५ खर्ब ६३ अर्ब रुपैयाँले बढेर २१ खर्ब ६५ अर्ब ६४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो ३५.१६ प्रतिशतको वृद्धि हो ।
सोही अवधिमा मुद्दती खातामा रहेको निक्षेप भने जम्मा १.८ प्रतिशतले बढेको छ । २०८० कात्तिक मसान्तसम्म ३५ खर्ब ३२ अर्ब ७७ करोड रुपैयाँ रहेको मुद्दती निक्षेप २०८१ कात्तिक मसान्तसम्ममा जम्मा ६४ अर्ब रुपैयाँले बढेर ३५ खर्ब ९६ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ ब्याजदर घटेका हरेक साइकलमा मुद्दती निक्षेपमा घट्ने र वचत खातामा पैसा बढ्ने बताउँछन् । ‘हाम्रो जस्तो देशमा लगानीका अवसर संकुचित र असुरक्षित हुने भएकाले बैंकमा पैसा राखेर प्रतिफल लिनेहरुको समूह ठूलो हुन्छ,’ नेपाल प्रफिटसँग उनले भने, ‘त्यसकारण ब्याजदर घटेका बेला वचत खातामा पैसा थुप्रिन्छ ।’
मुद्दती निक्षेप र साधारण वचत खातामा अहिले करिब १ प्रतिशत हाराहारीमात्र ब्याजदर अन्तर छ । पुसका लागि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिने औसत ब्याजदर नै ६.०२ प्रतिशत छ । मंसिरका लागि त्यो भन्दा कम ५.९६ प्रतिशत थियो ।
संस्थागत निक्षेपको ब्याज योभन्दा १ प्रतिशत कम हुन्छ । बैंक वित्तीय संस्थाहरुको ब्याजदर घटेका बेला मुद्दतीमा पैसा राख्ने रुचि निक्षेपकर्ताहरुले नगर्ने सीईओ खालिङले बताए ।
‘हामीकहाँ ब्याजदर उतारचढाव भइरहने भएकाले मुद्दती निक्षेपको ब्याज फेरि बढिहाल्छ भन्ने सोचले ब्याज घटेका बेला वचत खातामा पैसा सार्ने चलन छ,’ उनले भने, ‘ब्याजदर बढेका बेला फिक्स्ड डिपोजिटको पैसा ब्रेक गर्न झन्झट हुने भएकाले घटेको समयमा वचत खातामै पैसा राख्ने र ब्याजदर बढेका बेला मुद्दती सार्ने गरेको पाइन्छ ।’
मुख्य कारण नै अर्थतन्त्रको कमजोर पर्फर्मेन्स र लगानीको अवसरमा आएको संकुचनका कारण मानिस र संस्थाहरुले समेत जोखिम उठाउन नसकिरहेको सीईओ खालिङले बताए । ‘अहिले त घरजग्गा पनि निकै नै सुस्ताएको छ,’ उनले भने, ‘सुरक्षित प्रतिफल मुद्दती निक्षेपबाट प्राप्त हुने भएकाले मानिस र संस्थाहरु ब्याजदर बढ्ने अवसर हेरेर बस्न बाध्य छन् ।’
मुद्दती निक्षेपको रकम घट्दा बैंकहरुको लागत पनि घट्ने भएकाले ब्याजदर थप सस्तो पर्न जान्छ । अहिले बैंकहरुमा ७ खर्बभन्दा बढी तलरता थुप्रिएको छ । लगानीका लागि उद्योगी व्यवसायीको मनोबल उठ्न नसक्दा कर्जाको माग निकै सुस्त छ ।
एनएमबी बैंकका सीईओ सुनिल केसी ब्याजदर निक्कै घटिसक्दा पनि कर्जाको मागमा खासै सुधार आउन नसकेको बताउँछन् । ‘उद्योगी व्यवसायीले कर्जाको माग बढाएका छैनन्,’ उनले भने, ‘हाउजिङबाट अलेलि छ, ट्रेडिङको लागि केही बढेको छ, पहिलाभन्दा खासै सुधार छैन ।’ कात्तिक मसान्तसम्ममा निक्षेपको औसत ब्याजदर ५.०१ प्रतिशत छ भने कर्जाको औसत ब्याजदर ९.०७ प्रतिशत छ ।
२०८१ कात्तिक मसान्तमसम्म चल्ती खातामा ३ खर्ब ५५ अर्ब ८३ करोड रुपैयाँ छ भने कल निक्षेप ४ खर्ब ७९ अर्ब ८७ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै अन्य निक्षेप ४६ अर्ब ३१ करोड रुपैयाँ छ ।
२०८० कात्तिक मसान्तसम्म ५९ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ रहेको ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक वित्तीय संस्थाको निक्षेप कात्तिक मसान्तसम्ममा ७ खर्ब ३२ अर्बले बढेर ६६ खर्ब ४४ अर्ब २३ करोड पुगेको छ ।