• Menu

कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले हठात् नियन्त्रणमा लिनुको यस्तो छ कारण

नेपाल प्रफिट

२०८१ पुस ११, २०:४८

कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले हठात् नियन्त्रणमा लिनुको यस्तो छ कारण

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकलाई बुधबार बिदाकै दिन हतार-हतार सञ्चालक समिति बैठक बसेर नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लियो । मंसिर ११ देखि लागू हुनेगरी शीघ्र सुधारात्मक कारबाही गरेको केन्द्रीय बैंकले बुधबार किन हठात् समस्याग्रस्त घोषणा गर्‍यो त !

राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनामा कर्णाली डेभलपमेन्ट बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको उल्लेख छ । त्यस्तै संस्थागत सुशासनको अवस्था कमजोर भएको र आर्थिक हिनामिनाको आशंका पनि राष्ट्र बैंकले गरेको छ ।

सूचनामा ‘कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकाले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिइएको’ उल्लेख छ ।

त्यस्तै बैंकको निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको पनि केन्द्रीय बैंकले जनाएको छ । मूलत: राष्ट्र बैंकले ठूलो आर्थिक हिनामिनाको सूचना पाएपछि बिदाकै दिनमा हतार-हतार बोर्ड बैठक बोलाएर समस्याग्रस्त घोषणा गर्दै बैंकको व्यवस्थापन नियन्त्रणमा लिएको हो ।

राष्ट्र बैंकका बैंक सुपरीवेक्षण विभाग प्रमुख एवं कार्यकारी निर्देशक रामु पौडेलले कर्णाली विकास बैंकमा रहेका ‘राम्रा मान्छे’ले नै आर्थिक अपचलनबारे जानकारी दिएको बताए । ‘आर्थिक हिनामिना भएको कुरा संस्थाकै व्यक्तिहरुबाट जानकारी आएपछि हामीले टेकओभर गरेका हौँ,’ नेपाल प्रफिटसँग उनले भने, ‘कति र कसरी हिनामिना भयो भन्ने जानकारी भइसकेको छैन ।’

राष्ट्र बैंकले व्यवस्थापनको जिम्मेवारी दिएको समूहले अध्ययन गरेपछि औपचारिक जानकारी गराउन सकिने पौडेलले स्पष्ट पारे । राष्ट्र बैंकले बुधबार कम्पनी सञ्चालनका लागि बैंक वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ ।

व्यवस्थापन समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले पुस ११ बाट नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हालिसकेको छ ।

कर्णाली डेभलपमेन्टको उच्च व्यवस्थापक र सञ्चालक समितिका सदस्य मिलेर ठूलो आर्थिक अपचलन गरेको राष्ट्र बैंकको आशंका छन् । उनीहरुले सर्वसाधारणको पैसा बैंकिङ प्रणालीमा नराखी व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेको सूचना राष्ट्र बैंकले पाएको थियो ।