काठमाडौँ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ)को छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए)को अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
संघका सीईओ अनिल शर्माका अनुसार अध्यक्ष पदका लागि सोमबार दिउँसो २ बजेसम्म माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनको उम्मेदवारी परेको हो । कोइराला बैंकर्स संघका उपाध्यक्ष हुन् भने शेरचन कार्यकारी सदस्य छन् ।
तेह्र वर्षयता संघका उपाध्यक्ष स्वत: अध्यक्ष हुँदै आएकोमा यसपटक दुई जनाको उम्मेदवारी परेको छ । कुनै एक जनाले उम्मेदवारी फिर्ता नलिए पुस ३ गते संघको ३८औं वार्षिक साधारण सभामा अध्यक्षका लागि निर्वाचन हुनेछ ।
संघको कार्यकारी समितिमा पुग्नका लागि आज पुस १ सम्म मनोनयन दर्ताको समय तोकिएको छ । भोलि पुस २ गतेका लागि उम्मेदवारी फिर्ताको समय छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि साँझ नै हुनेछ । पुस ३ गते हुने साधारणसभाले अध्यक्ष, उपाध्यक्ष र तीन सदस्य चयन गर्नेछ ।
विगतको परिपाटीविपरीत दुई जनाको उम्मेदवारी परेपछि संघका वर्तमान अध्यक्ष सुनिल केसीलगायतले सहमतिको प्रयास गरेका छन् । संघका पूर्वअध्यक्ष र अधिकांश सदस्यहरूले पनि सहमतिमै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिइरहेको एक बैंकका सीईओले नेपाल प्रफिटसँग बताए ।
माछापुच्छ्रे बैंकका सीईओ एवं संघका उपाध्यक्ष कोइरालाले आफू अध्यक्षको स्वाभाविक दाबेदार भएकाले उम्मेदवारी दिएको बताए । ‘अहिलेसम्मको अभ्यासलाई हेर्दा म अध्यक्षको स्वाभाविक दाबेदार भएकाले उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘म पछि हट्ने कुरा आउँदैन ।’
कोइराला यसअघि दुई कार्यकाल संघको कार्यकारी सदस्य र वर्तमानसमेत गरी दुई कार्यकाल उपाध्यक्ष रहिसकेका छन् ।
संघको अध्यक्षका लागि हालसम्म दुई जनाको उम्मेदवारी परे पनि बाँकी रिक्त तीन सदस्य पदका लागि हालसम्म उम्मेदवारी नपरेको संघका सीईओ शर्माले जानकारी दिए । आज साँझसम्म उम्मेदवारी दिने समय छ ।
राष्ट्रिय वाणिज्य बैंकबाट किरणकुमार श्रेष्ठ र नेपाल एसबीआई बैंकबाट दीपककुमार देको कार्यकाल सकिएकाले सदस्यका ती दुई पद रिक्त छन् भने एभरेस्ट बैंकका सीईओ सुदेश खालिङको पनि एक कार्यकाल पूरा भएको छ । संघको कार्यकारी सदस्यमा लगातार दुई कार्यकाल बस्न सक्ने व्यवस्था छ । दोस्रो कार्यकालका लागि पनि उम्मेदवारी भने दर्ता गराउनुपर्छ ।