काठमाडौं । कर्णाली याक्सले पहिलो नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान बनाएको छ । कर्णाली प्लेअफमा पुगेसँगै काठमाडौं गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ ।
लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णालीले दिएको १०२ रनको लक्ष्य १५.२ ओभरमा पूरा गरेको हो । कर्णालीलाई पराजित गरेको सुदूर लिग चरणको शीर्ष स्थानमा उक्लिएको छ ।
आजको खेलमा सुदूरले १३ ओभरभित्र लक्ष्य पूरा गरेको भए काठमाडौं प्लेअफमा पुग्ने थियो । तर, सुदूरले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेका कारण रनरेटका आधारमा कर्णाली प्लेअफ पुगेको छ । समान चार खेल जितेका कर्णाली र काठमाडौंको अंक भने बराबर छ ।
प्लेअफमा अब सुदूरपश्चिम र जनकपुर तथा चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ । सुदूरपश्चिम र जनकपुरबीचको विजेता सिधै फाइनल पुग्नेछ भने पराजित टिमले फाइनलमा पुग्न चितवन र कर्णालीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।