पर्सा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्रथामिकताका आधारमा ऋण लिएर कार्यान्वयन गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री महतले सरकारले कोभिड–१९ पछि लिइएका ऋण तिर्न समस्या भइरहेकाले जभाभावी ऋण लिन नहुने धारणा राखे ।
‘विगत पाँच वर्षयता सरकारले लिएको आन्तरिक तथा बाह्य ऋण तिर्न समस्या भइरहेकाले अब आवश्यकताका आधारमा मात्रै ऋण लिनुपर्छ,’ उनले भने, ‘आयोजनाको प्रभावकारिता र प्रथामिकताको आधारमा मात्रै ऋण लिएर प्रतिफल आउने क्षेत्रमा लगानी गर्नुपर्छ । त्यसो गर्न नसकिए मुलुकमा ऋणको व्ययभार बढ्छ ।’
महतले छिमेकी मुलुक चीन र भारतबाट अनावश्यक ऋण लिन नहुने धारणा राखे । ‘विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) लगायत सस्तो ब्याजदरको ऋण सदुप्रयोग गरी प्रतिफल केन्द्रित योजनामा लगानी गर्नुपर्छ,’ उनले भने, ‘विभिन्न सर्त र प्रावधान राखेर लिने ऋण मुलुकको हितका लागि हुन्छन् वा हुँदैनन् त्यसतर्फ सचेत हुनु जरुरी छ ।’
कांग्रेस प्रवक्ता महतले बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ को समयमा निजी क्षेत्रलाई प्रवाह गरेको ऋण अहिले उठाउन समस्या भइरहेको बताए । ‘कोभिडको समयमा व्यापार, व्यवसाय सबै स्थिर भएकाले त्यो बेला खर्च गर्ने ठाउँ भएन । अर्थतन्त्र चलायमान नहुँदा निजी क्षेत्रले पहिला लिएको ऋण तिर्न अहिले मुस्किल भइरहेको छ,’ उनले भने ।
अहिले पनि बैंक तथा वित्तीय संस्थामा जम्मा भएको पुँजी ऋणको रूपमा प्रवाह हुन नसकिरहेको र सोही कारण मुलुकको अर्थतन्त्र पूर्णरूपमा चलायमान हुन नसकिरहेको उनले बताए ।
प्रवक्ता महतले सरकार र निजी क्षेत्र दुवैले प्रभावकारी र प्रतिफल दिने आयोजनामा मात्र लगानी गर्नुपर्नेमा जोड दिए । वर्तमान सरकारले आर्थिक अनुशासन र राज्यको प्रथामिकतालाई ध्यानमा दिएर काम गर्नुपर्ने विचार उनले राखे ।
‘सरकारले कुनै पनि आयोजनाका लागि बजेट विनियोजन गर्दा बढीभन्दा बढी नागरिकलाई फाइदा पुग्ने योजनालाई प्रथामिकता दिनुपर्छ,’ महतले भने, ‘बजेट विनियोजन भएपछि त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक अनुगमन र मूल्यांकन पनि जरुरी छ ।’