काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशालामा आइतबार प्रधानमन्त्री ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिङ्गो पार्टी पंक्ति परिचालित हुनुपर्ने बताए ।
चिनियाँ कम्युनिस्ट पार्टीको संघर्ष, सफलता र हाल चीनको तीव्र आर्थिक विकासलाई दृष्टान्तका रुपमा प्रस्तुत गर्दै उनले सबै कुरामा तयार भएर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनतर्फ लाग्नुपर्ने विचार राखे । ‘पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्छ,’ उनले भने, ‘कार्यशालामा सहभागी हरेक सदस्यले यसको सन्देश आम जनमसुदायमा सम्प्रेषण गर्नुस् ।’
चिनियाँ कम्युनिस्ट पार्टीले केही पनि नभएको ठाउँबाट राज्यसत्तामा पुगेर श्रेष्ठता हासिल गर्दै अहिले चीनलाई आर्थिक रुपमा महाशक्ति राष्ट्र बनाएको उदाहरण उनले प्रस्तुत गरे । अध्यक्ष ओलीले त्यहाँ पार्टी नेतृत्वलाई कुनै पनि नेताले विरोध नगर्ने गरेको पनि स्मरण गराए ।
चीनले अन्य समाजवादी मुलुकको नक्कल नगरी आफ्नै विशेषताको समाजवादको यात्रा थालेको र एमालेले पनि नेपालमा समाजवाद स्थापनाको लक्ष्यमा आफूलाई अग्रसर गराउँदै आएको उनले बताए ।
‘हाम्रो पार्टी केवल राजनीति गर्न जन्मेको होइन । समाजवाद र राष्ट्रवादको महान् उद्देश्य बोकेर देश बनाउन र सकारात्मक परिवर्तन ल्याउन जन्मेको हो । यसले सामाजिक परिस्थितिलाई उच्चतम् रुप दिन सुरुवातदेखि नै लाग्दै आएको छ,’ अध्यक्ष ओलीले भने ।
जनताले सजिलोसँग खान, लाउन, बस्न पाउने तथा छोराछोरी पढाउन पाउने, बिरामी हुँदा उपचार गर्न पाउने आधारभूत आवश्यकताको परिपूर्ति तथा राजनीतिक अधिकार पाउनुपर्ने भन्ने उद्देश्यले कम्युनिस्ट पार्टीको स्थापना भएको उनको तर्क छ । ‘राजनीतिक अधिकार प्राप्ति भएको छ, अब स्थिरता र स्थायित्व कायम गरेर आर्थिक उत्पादन र समृद्धिमा लाग्नुपर्छ,’ उनले भने ।
इतिहासकालदेखि पार्टीमा वैचारिक स्पष्टता र एकता हुन नसक्दा वाञ्छित उपलब्धि हासिल हुन नसकेको र पार्टीभित्र विमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखा पर्दै आएको उनले स्पष्ट पारे ।
प्रतिक्रियावादीले कम्युनिस्ट पार्टीलाई विभाजन गराएर राज गर्ने नीत लिए पनि पुष्पलालले पार्टी एकताको प्रयास गरेको स्मरण गर्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो त्यही सही भन्ने प्रवृत्तिबाट मुक्त भई सही कुरा अपनाउने र त्यसमा अडिग रहने इमानदारिता नेता–कार्यकर्तामा आवश्यक हुने बताए ।
शनिबार सुरु भएको कार्यशालामा एमालेका सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव, संगठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई महिला, जनसंगठनका केन्द्रीय अध्यक्ष महासचिव र महानगर उपमहानगरकाका एमालेबाट निर्वाचित प्रमुख उपप्रमुखको सहभागिता छ ।