• Menu

रेमन्ड रेइफरको सानदार ब्याटिङमा पोखरा एभेन्जर्सको दोस्रो जित

नेपाल प्रफिट

२०८१ मंसिर २७, १३:०२

रेमन्ड रेइफरको सानदार ब्याटिङमा पोखरा एभेन्जर्सको दोस्रो जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।

एनपिएलकै पहिलो सुपर ‍ओभरमा पहिले ब्याटिङ गरेको पोखराका लागि आन्द्रेस गौस र रेमन्ड रेइफरले ब्याटिङ गरेका थिए । रेइफरले सुरुवाती दुई बलमा छक्का प्रहार गरे । तेस्रो बल डट भयो भने चौथो बल चौका भयो । त्यस्तै, पाँचौ बलमा रेइफरले एक रन लिए । छैटौं बलमा गौसले एक रन लिए । सुपर ओभरमा पोखराले १८ रन जोड्यो ।

सुपर ओभरमा १९ रनको लक्ष्य पाएको विराटनगरका लागि मार्टिन गप्टिल र निकोलास किर्टोन ब्याटिङमा थिए। पहिलो बलमा गप्टिलले ब्याट घुमाए पनि एक रन लिए । दोस्रो बलमा पनि किर्टोनले एक रन लिए । तेस्रो बलमा पनि गप्टिलले एक रन मात्र जोडे । चौथो बल डट भयो ।

पाँचौ बलमा किर्टोनले एक रन लिए । त्यसपछि बल वाइड भयो । छैटौं बलमा गप्टिलले कुनै रन लिन नसक्दा विराटनगरले सुपर ओभरमा ५ रन मात्र जोड्यो ।

त्यसअघि दुवै टोलीले २० ओभरमा १३९-१३९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

विराटनगरका लागि डेब्यू गरेका स्कट इडवार्डले सर्वाधिक ४५ रन जोडे। डच कप्तान इडवार्डले एनपिएलको पहिलो खेलमा ३५ बलमा ५ चौका प्रहार गरे ।

ओपनर लोकेश बमले १६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २६ रन जोडे । अर्का ओपनर मार्टिन गप्टिल भने ५ रनमै आउट भए ।

पोखराका लागि ओपनर आन्द्रेस गौसले ३९ रन जोडे। उनले २७ बलमा ७ चौका प्रहार गरेका थिए। अर्का ओपनर दिनेश खरेल भने ११ रनमा आउट भए ।

कप्तान कुशल भुर्तेल ३१ रन जोडेर आउट भए । माइकल लिक्स ११ रन जोडे भने रेमन्ड राइफर ३४ रन बनाएर खेललाई सुपर ओभरमा पुर्‍याएका थिए ।

पोखराका लागि सागर ढकाल र राइमन रिफरले समान दुई-दुई विकेट लिए भने कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान एक-एक विकेट झारे ।

पाँचौं खेलमा पोखराको यो दोस्रो जित हो । विराटनगर भने पाँच मध्ये चार खेलमा पराजित भइसकेको छ भने विराटनगर लिग चरणबाट बाहीरिने दोस्रो टिम हो ।