नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधबार भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले आफ्नो चौथो जित निकालेको छ । सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । उनले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाएका हुन् । यसैगरी, सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि हर्मित सिंह, कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले २-२ विकेट लिए । सैफ जैब र नरेन साउदले समान १ विकेट लिए । स्कट कुगुलेइनेल बलिङ गरेको पहिलो बलमै विकेट लिए ।
सुदूरपश्चिम रोयल्सले दिएको एक सय २४ रनको लक्ष्य पुरा गर्न जनकपुर बोल्ट्सलाई भारी परेको छ । जनकपुर बोल्ट्स १२.१ ओभरमा ५१ रन बनाएर अलआउट भएको हो ।
ओपनर तथा कप्तान अनिलकुमार साह दोस्रो ओभरमा शून्यमा बोल्ड भए । तेस्रो ओभरमा आसिफ शेखलाई दीपेन्द्रसिंह ऐरीले ४ रनमा आउट गरे। त्यस्तै, हर्ष थाकर ५ रनमा रनआउट भएका हुन् ।
अर्को ओभरमा लाहिरु मिलन्थालाई इशानले पाण्डेले आरिफ शेखबाट क्याच गराए । त्यसपछि ऐरीले जेम्स निशमलाई ४ रनमा बोल्ड गरेका थिए।
जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई-दुई विकेट झारेभने हर्ष ठाकरले एक विकेट लिए ।
जनकपुर बोल्ट्सले लगातार चार वटा खेल जितेको थियो भने जनकपुरको यो पहिलो हार हो ।