काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्समाथि ७ विकेटको सहज जित निकालेको छ ।
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले टस हारेर पहिले फिल्डिङ गरेको थियो ।
कर्णालीको जितमा गुल्सन झाले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरेर ४९ रन जोडे । त्यसअघि कर्णालीका ओपनर भने चल्न सकेनन् । देव खनाल शून्य र बाबर हायत ७ रनमा आउट भए । चाडविक वाल्टनले ३४ बलमा ४२ रन जोडे ।
कर्णाली याक्सका लागि विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट लिए भने उनी नेपाल प्रिमियर लिगमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । साथै कप्तान सोमपाल कामी दुई, विपिन शर्मा र युनिस सिंह ठकुरी एक-एक विकेट लिए
त्यस्तै, पोखराका लागि ओपनर दिनेश खरेलले १९ बलमा २६ रन र आन्द्रेस गौसले १२ बलमा २५ रन जोडे । खरेल र गौसबीच ४६ रनको साझेदारी हुनुबाहेक पोखराको इनिङ्ग्स कुनै बेला पनि सम्हालिन सकेन । कप्तान कुशल भुर्तेलले ११ बलमा १० रन जोडे ।
पाँच खेलमा कर्णालीको यो तेस्रो जित हो । पोखरा भने चार मध्ये तीन खेलमा पराजित भइसकेको छ ।