• Menu

म्याद थपिएको चार महिनापछि नारायणगढ-बुटवल सडक विस्तारले पायो तीव्रता

नेपाल प्रफिट

२०८१ मंसिर २५, १४:३९

म्याद थपिएको चार महिनापछि नारायणगढ-बुटवल सडक विस्तारले पायो तीव्रता

नवलपुर । राष्ट्रिय गौरवको आयोजना नारायणगढ-बुटवल सडक विस्तारको कामले म्याद थप भएको चार महिनापछि तीव्रता पाएको छ । २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिए पनि कामले बल्ल तीव्रता पाएको हो ।

२०८२ साउन ८ भित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले म्याद थप गरेको आयोजनाले काम नै नगरी करिब साढे चार महिना बिताएको थियो । मनसुन, चाडपर्वलगायतका कारण देखाउँदै विस्तार रोकेको निर्माण व्यवसायीले नोभेम्बर अन्तिम साताबाट कामलाई तीव्रता दिएको हो । नारायणगढ-बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अहिले सडक विस्तारमा ३२३ श्रमिक परिचालन गरिएको छ ।

‘पछिल्लो १३ दिनदेखि सडक विस्तारको काम सुरु भएको हामीलाई जानकारी आएको छ,’ उनले भने, ‘अहिले सबबेस, बेस, अप्रोज रोड (नयाँ बनेको पुललाई सडकसँग जोड्न माटो भर्ने काम), कल्भर्ट निर्माण र ढुंगाको पर्खाल निर्माण गर्ने काम भइरहेको छ ।’ यस खण्डमा बनेका १६ पुलमा अप्रोज रोड बनाउनुपर्नेमा अहिले नौ वटामा काम भइरहेको र बाँकी सातमा पनि चाँडै काम सुरु हुने उनले जानकारी दिए ।

त्यसैगरी २३२ कल्भर्टमध्ये १८१ वटा निर्माण सम्पन्न भएको तथा १४ वटाको काम भइरहेको छ । उनका अनुसार ९ स्थानमा सडक किनारमा ढुंगाको पर्खाल लगाउने काम भइरहेको छ ।

गैँडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकाका विभिन्न भागमा रहेको पुरानो कालोपत्र भत्काएर सबबेस, बेसको काम भइरहेको सूचना अधिकारी खनालले बताए । सडक विस्तारमा अहिले ११ वटा स्काभेटर, दुईवटा क्रेन, ६ रोलर र ८ ग्रेडरको प्रयोग भइरहेको छ ।

‘अहिले सडक विस्तारको कामलाई तीव्रता दिने गरी काम भइरहेको छ,’ उनले भने, ‘निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण थप गर्दै सडक विस्तारको कामलाई चाँडो गर्ने प्रतिबद्धता जनाएर काम गरेको छ ।’ गैँडाकोट-दाउन्ने खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये ३५ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।

हालसम्म पूर्वीखण्डको भौतिक प्रगति ५३.१५ प्रतिशत छ । डिसेम्बरमा थप ३.१८ प्रतिशत सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको इन्जिनियर खनालले बताए । मध्यविन्दु नगरपालिकामा पर्ने चोरमारा जंगलको उकालोमा सडक विस्तारको काम भइरहँदा जमिन मुनिबाट पानी रसाएर यातायात सञ्चालनमा समस्या आएपछि अहिले ‘सब सर्फेस ड्रेन’ निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

सडकको बीचमा खाल्डो खनेर जमिन मुनिबाट निस्किएको पानीलाई निकास दिन सब सर्फेस ड्रेन बनाइएको हो । ‘अब यस खण्डमा सहज रुपमा यातायात सञ्चालन गर्न तथा सडक विस्तार गर्न सकिने भएको छ,’ उनले भने ।

नारायणगढदेखि बुटवलसम्मको ११४ किलोमिटर सडक २०७९ साउन २२ भित्र काम सक्नेगरी २०७५ माघमा सरकार र चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडबीच सम्झौता भएको थियो ।

नारायणघाट-दाउन्ने (६५ किलोमिट) र दाउन्ने-बुटवल (४९ किलोमिटर) गरी दुई खण्डमा ठेक्का लगाइएको योजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ मा बुटवलमा शिलान्यास गरका थिए । निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलो पटक २०८० साउन ८ र दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो ।