कैलाली । कैलालीको शिवगंगा नदीमा पुल निर्माण सात वर्षदेखि अधुरै छ । धनगढी उपमहानगर–१७ र वडा नम्बर १६ रामपुर जोड्ने उक्त पक्की पुल निर्माणका लागि सम्झौता भएको लामो समय भए पनि निर्माण कार्यले गति लिन नसकेको हो ।
निर्माणको जिम्मा लिएको पप्पु एड्भेन्चरको लापर्वाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । १४ करोड २६ लाख लागतमा तीन वर्षभित्र काम सक्नेगरी सडक डिभिजन कार्यालय महेन्द्रनगर र पप्पु एड्भेन्चरबीच २०७४ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । निर्माण कम्पनीले सात वर्षसम्म पुल निर्माणका लागि जग खन्ने काममात्र गरेको धनगढी उपमहानगरपालिका–१७ का वडाध्यक्ष माधवराज रानाले बताए ।
खुटिया र शिवगंगा नदीमा पुल निर्माण गर्न एकैपटक शिलान्यास भएको थियो । ‘खुटिया नदीमा पुल निर्माण भएको चार वर्ष भयो तर शिवगंगामा काम भएको छैन,’ उनले भने ।
सडक डिभिजन कार्यालयले ३० प्रतिशत काम सकिएको भनेर कुल लागतको २२ प्रतिशत अर्थात् तीन करोड १३ लाख ७२ हजार रुपैयाँ भुक्तानी दिइसकेको छ । ठेक्का सम्झौताअनुसार २०७७ असारसम्म पुल बनिसक्नुपर्ने हो । सडक डिभिजन कार्यालयले पटक–पटक गरी २०८२ भदौसम्म म्याद थपेको जनाएको छ ।
निर्माण कम्पनीले साढे दुई वर्ष थप्न माग गरेपछि पुल निर्माणका लागि समय थप गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले बताए । निर्माण कम्पनीले चालु आवभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।
शिवगंगा नदीमा पुल निर्माण सम्पन्न नहुँदा वर्षातका बेला बयलगाडामा एकपटकको सय रुपैयाँ शुल्क तिरेर नदी तर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष रानाले बताए । पुल निर्माण सम्पन्न नहुँदा हिउँदको समयमा उपमहानगरपालिकाले ह्युम पाइपमार्फत सवारीसाधन सञ्चालन गर्न सडक निर्माण गर्दै आएको छ । वर्षातको समयमा शिवगंगामा बाढी आउने भएकाले मोटरसाइकल र साइकल गाडामै राखेर नदी वारपार गर्ने गरिन्छ ।