काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिए) अन्तर्गत आइतबार भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लगातार जित निकालेको छ । लुम्बिनी लायन्सलाई १ रनले हराउँदै जनकपुरले विजयी यात्रा कायम राखेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेट गुमाएर १३६ रन मात्र बनाउन सकेको हो ।
जनकपुरका लागि कप्तान अनिलकुमार साहले । ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरेर ४५ रन बनाए ।
त्यस्तै, अर्का ओपनर आसिफ शेखले १६ रन जोड्दा लाहिरू मिलन्थाले २४ रन बनाए । त्यसपछिका ब्याटर भने चल्न सकेनन् ।
हर्ष थाकर र जिमी निशम एक एक रन बनाए भने मोहमद मोसिन ३ रन र शेर मल्ल शून्यमा आउट भए ।
जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेटको क्षतिमा १३५ रन मात्र बनायो ।
लुम्बिनीका ओपनर आशुतोष घिरैयाले १४ बलमा ८ रन मात्र जोड्दा अर्जुन साउदले २० रन जोडे भने उनले २३ बलमा २ चौका प्रहार गरे । अर्जुन दशौं ओभरमा शेर मल्लबाट बोल्ड भए ।
त्यस्तै, कप्तान रोहित पौडेल ३० रन र टम मुर्स ३१ रनमा आउट भए । दुवैलाई जनकपुरका हर्ष थाकरले क्याच आउट गराए । त्यसपछि लुम्बिनीमाथि केही दबाब थपिएको थियो भने विवेक यादवलाई शून्यमा आउट भए ।
उत्कृष्ट प्रदर्शन गरेका क्यानेडियन अलराउन्डर थाकरले पाँच विकेट लिँदा २३ रन खर्चिए । अन्तिम बलमा आउट भएका जोराले १६ रन जोडे ।
जनकपुर बोल्ट्सको यो चौथो जित सँगै ८ अंक जोडेको छ ।