काठमाडौँ । नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्प छन् । घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रमा नागरिकले प्राथमिकता दिने गरेका छन् । यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’को चर्चा भने अत्यन्त कम छ ।
बैंकको मुद्दती निक्षेपभन्दा बढी ब्याज दिने बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो । यसको प्रचारप्रसारको अभाव, केही प्रक्रियागत जटिलता र दोस्रो बजारको सीमित जानकारीका कारण यसप्रति लगानीकर्ता आकर्षित हुन सकेका देखिँदैनन् ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मुख्यतः दुई प्रकारका बचतपत्र जारी गर्दै आएको छ । पहिलो, ‘नागरिक बचतपत्र’, जुन नेपाली नागरिकको बचत परिचालन गरी आन्तरिक ऋण जुटाउन प्रयोग गरिन्छ । दोस्रो, ‘वैदेशिक रोजगार बचतपत्र’, जुन वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक वा फर्केका नागरिकका लागि लक्षित उपकरण हो ।
यी बचतपत्रहरू पाँचवर्षे अवधिका हुन्छन् र हालको ब्याजदर क्रमशः साढे ७ र साढे ८ प्रतिशत छ । यो ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा धेरै आकर्षक भए पनि यसको महत्व र फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन ।
बचतपत्र पूर्ण रूपमा सुरक्षित लगानी हो । यसमा सरकारले मूलधनको ‘ग्यारेन्टी’ गरेको हुन्छ । साथै, बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा सिधै जम्मा हुन्छ ।
यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने हुँदा यसमा लगानी गर्दा अन्य क्षेत्रमा पनि लगानीका अवसर खुल्नुका साथै दोस्रो बजारमा यसको सहज कारोबारले बचतपत्रलाई छिटो तरलता प्रदान गर्छ ।
बचतपत्रका प्रशस्त फाइदा हुँदाहुँदै पनि लगानीकर्ताको रोजाइमा पर्न नसक्नुका पछाडि प्रचारप्रसारको कमी र धेरै लगानीकर्तालाई यसबारे जानकारी नहुनु रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले बताए ।
‘बचतपत्रप्रति नागरिकको कम आकर्षणका केही ठोस कारण छन् । पहिलो र मुख्य समस्या यसको प्रचारप्रसारको अभाव हो,’ उनले भने, बचतपत्रको प्राथमिक निष्कासन प्रक्रिया निकै सजिलो भए पनि यसबारे धेरैलाई जानकारी छैन । बजारको सीमित जानकारी र पहुँचले पनि बचतपत्रप्रति लगानीकर्ताको चासो घटाएको हुनसक्छ ।’
बैंक तथा वित्तीय संस्थाहरूले मुद्दती निक्षेप र अन्य बचत योजनाको प्रचार व्यापक रूपमा गर्ने भए पनि बचतपत्रका बारेमा पर्याप्त जानकारी प्रवाह गरिएको पाइँदैन ।
बचतपत्रलाई तत्काल तरलतामा रुपान्तरण गर्न सकिन्छ । अर्थात् आफूले खरिद गरेको बचतपत्र चाहेको समयमा तत्कालै बेच्न सकिन्छ । ‘बचतपत्र धनीले आफूले चाहेका बेला बजार निर्माताका रूपमा बैंक तथा वित्तीय संस्थाहरूलाई सजिलै बिक्री गर्न सक्छन् । कसैले बिक्री गर्न चाहेमा बैंकले खरिद गर्दिन भन्न पाउँदैन । यसकारण बचतपत्रलाई एकदमै तरल प्रकृतिको मान्न सकिन्छ,’ पुडासैनीले भने, ‘जसकारण भोलिका दिनमा बैंकहरूको ब्याजदर बढ्यो भने पनि बचतपत्र बेचेर मुद्दती निक्षेप लगानी गर्नसक्ने विकल्प खुला छ ।’
नेपालमा वित्तीय साक्षरताको कमी पनि बचतपत्रप्रति कम आकर्षण हुनुको अर्को कारण हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डीओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत सहजै कारोबार गर्न सकिने भए पनि धेरैजसो नागरिकलाई यी माध्यमको प्रयोगबारे प्रस्ट जानकारी छैन । आमनागरिकले आफ्नो बचतलाई सुरक्षित रूपमा परिचालन गर्न सकिने साधनका रूपमा बचतपत्रलाई बुझ्न सकेका छैनन् ।
बचतपत्रमा लगानी आकर्षित गर्न सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले केही सुधारका प्रयास गरिरहेको उनले जानकारी दिए । अनलाइन माध्यमबाट सजिलै आवेदन दिन सकिने, बचतपत्रको ब्याज रकम सिधै खरिदकर्ताको बैंक खातामा जम्मा हुने, दोस्रो बजारको कारोबारलाई सहज बनाउन प्रक्रियागत सुधार र दोस्रो बजारमा कारोबार गरेबापत ग्राहकसँग लिइने शुल्क कटौतीजस्ता प्रयास भएको उनले बताए ।
विदेशमा रहेका नेपालीका लागि लक्षित वैदेशिक रोजगार बचतपत्रले उनीहरूको आम्दानीलाई सुरक्षित लगानीमा रूपान्तरण गर्न सहयोग पुर्याउने भए पनि त्यो अवसरको सदुपयोग भने हुन नसकेको पुडासैनीले स्वीकार गरे । ‘विगतमा केही वैदेशिक रोजगार बचतपत्र १ प्रतिशतभन्दा कम सस्क्राइब (खरिद) भएका उदाहरण पनि छन् । तर विस्तारै बचतपत्र खरिद गर्नेहरूको संख्या बढिरहेको छ,’ उनले भने ।
१० प्रतिशत ब्याजदर दिइएका वैदेशिक रोजगार बचतपत्र २०८१, २०८१ ‘क’, २०८२ र ११ प्रतिशत ब्याज दिइएको २०८५ को एक प्रतिशतभन्दा कम खरिद भएको थियो । साढे १२ प्रतिशत ब्याज दिइएको वैदेशिक रोजगार बचतपत्र २०८४ को भने कुल निष्कासित रकमको ११ दशमलव ३४ प्रतिशत खरिद भएको थियो ।
अहिले पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंसिर १२ देखि वैदेशिक रोजगार बचतपत्र– २०८६ (क) निष्कासन गरेको छ । ५० करोड रुपैयाँबराबरको निष्कासन रहेको पाँच वर्ष अवधिको यो बचतपत्रमा साढे ८ प्रतिशत ब्याजदर दिइने कार्यालयले जनाएको छ ।
यो बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुनेछ । घटीमा १० हजार र बढीमा निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न सकिन्छ ।
पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका र निजका परिवारले खरिद गर्न पाउने यो बचतपत्रको पुस १४ सम्म बिक्री खुला छ ।
सरकारले बचतपत्रको लोकप्रियता बढाउन थप कदम चाल्नु आवश्यक छ । यसको प्रचारप्रसारलाई तीव्रता दिने, प्रक्रियागत जटिलता हटाउने, र वित्तीय साक्षरता अभिवृद्धि गर्नेतर्फ ध्यान दिनुपर्छ ।
बचतपत्रजस्तो सुरक्षित र लाभदायक उपकरणलाई नागरिकहरूको पहिलो रोजाइ बनाउने हो भने यसले निजी बचतलाई परिचालन गरी राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ ।
(रासस)
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal