काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ की नवनिर्वाचित अध्यक्ष रोजिना श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएकी छन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले उनलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
रोजिना रास्वपाका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् । उनी काठमाडौं महानगरको एकमात्र महिला वडाध्यक्ष पनि बनेकी छन् । चुनावी प्रचारप्रसारका क्रममा उनले मेयर बालेनले राम्रो काम गरिरहेको र वडाध्यक्ष चुनिए सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
आइतबार भएको निर्वाचनमा रोजिनाले २ हजार ९०२ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरेका थिए।
२०७९ को निर्वाचनमा वडा नम्बर १६ नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसका तर्फबाट निर्वाचित मुकुन्द रिजालको मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।