काठमाडौँ । आइएमईले विदेशबाट पठाएको रकम प्राप्त गर्ने सेवाग्राहीलाई केबलकारको यात्रामा विशेष छुट दिने भएको छ । आइएमईमार्फत कारोबार गरेका सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउनेछन् ।
आइएमईमार्फत रकम भुक्तानी प्राप्त गरेको रसिद वा आइएमई पेमार्फत रकम प्राप्त गरेको डिजिटल रिसिप्ट देखाएर सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको छुट प्राप्त गर्न सक्नेछन् । रकम प्राप्त गरेको तिन महिनासम्म सो रसिद देखाएर छुट लिन सकिनेछ ।
मौलाकाली केबलकारका सञ्चालक रुद्रराज पौडेलले विदेशमा बसेकाहरूले आफ्नो परिवार तथा प्रियजनलाई मौलाकाली, कामाख्या देवीलगायतका देवस्थलको दर्शन तथा घुमफिरमा समेत प्रोत्साहित गरुन् भन्ने उद्देश्यले छुटको व्यवस्था मिलाइएको बताए । परिवार तथा प्रियजनको खुसीले मेहनत गर्न तथा बढी रकम पठाउनसमेत विदेशमा रहेकाहरूलाई प्रोत्साहित गर्ने विश्वास पौडेलले व्यक्त गरे ।
नवलपुरको गैंडाकोटस्थित मौलाकाली केबलकार र रुपन्देहीको बुटवल र पाल्पाको वसन्तपुर डाँडा जोड्ने गरी सञ्चालनमा रहेको लुम्बिनी केबलकारले मन्दिर दर्शन र अन्य घुमफिर गर्ने सहज व्यवस्था मिलाउँदै आएका छन् ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर कोड स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याक सुविधा पनि उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । हाल २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।