काठमाडौं । बिमा कम्पनीहरुले चार महिनामा ६८ अर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन् । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्ममा ३५ बिमा कम्पनीले ६८ अर्ब ५ करोड ७७ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन् ।
बिमा कम्पनीहरुको व्यवसाय गत वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ९.४४ प्रतिशतले बढेको छ । गत वर्षको साउनदेखि कात्तिकसम्ममा बिमा कम्पनीहरुले ६२ अर्ब १८ करोड ८३ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका थिए । नेपालमा १४ जीवन, १४ निर्जीवन, तीन लुघ जीवन र चारवटा लघु निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् ।
जीवन बिमाको व्यवसाय कति ?
प्राधिकरणको तथ्यांकअनुसार जीवन बिमा कम्पनीहरुले चार महिनामा ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् । यो रकम गत वर्षको तुलनामा ८.६१ प्रतिशतले बढी हो । गत वर्षको साउनदेखि कात्तिकसम्ममा जीवन बिमा कम्पनीहरुले ४९ अर्ब ४४ करोड ११ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका थिए ।
समीक्षा अवधिमा जीवन बिमा कम्पनीहरुले ११ अर्ब १ करोड ६ लाख रुपैयाँ प्रथम बिमाशुल्क र ४२ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ नवीकरण बिमाशुल्क संकलन गरेका छन् ।
समीक्षा अवधिमा सक्रिय बिमालेख संख्या घटेको छ । जीवन बिमा कम्पनीहरुको कुल सक्रिय बिमालेख संख्या १ करोड ३४ लाख ४ हजार ६४७ मा झरेको छ । जबकि, गत वर्ष कात्तिकसम्ममा सक्रिय बिमालेख संख्या १ करोड ३७ लाख १९ हजार ७२५ थियो ।
निर्जीवनको व्यवसाय कस्तो ?
बिमा प्राधिकरणका अनुसार चालु आवको चार महिनामा निर्जीवन बिमा कम्पनीहरुले १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् । निर्जीवन बिमा कम्पनीहरुको व्यवसाय समीक्षा अवधिमा १२.६४ प्रतिशतले बढेको छ ।
गत वर्षको साउनदेखि कात्तिकसम्ममा निर्जीवन बिमा कम्पनीहरुले १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका थिए ।
प्राधिकरणको तथ्यांकले बिमाको दायरामा आएको जनसंख्या भने घटेको देखाउँछ । गत वर्ष कात्तिकसम्ममा ४२.९८ प्रतिशत रहेको बिमाको दायरा यो वर्षको कात्तिकसम्ममा ४२.९२ प्रतिशतमा झरेको हो ।