• Menu

रास्वपा सभापति लामिछानेको राहदानी दुरुपयोगको मुद्दामा आज पेसी

नेपाल प्रफिट

२०८१ मंसिर १७, ११:५३

रास्वपा सभापति लामिछानेको राहदानी दुरुपयोगको मुद्दामा आज पेसी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरूपयोगको मुद्दामा आज सोमबार सर्वोच्च अदालतमा पेसी परेको छ । लामिछानेको मुद्दामा न्यायाधीशहरू हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको इजलासमा पेसी परेको हो ।

इजलासको अन्तिमतिर परेकाले सुनुवाइ हुने नहुने भने यकिन छैन । लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध अधिवक्ता युवराज पौडेलले २०७९ चैत २० गते रिट दायर गरेका थिए ।

उनले महान्यायाधिवक्ता कार्यालय, तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेल, जिल्ला प्रशासन कार्यालय काठमाडौं, अध्यागमन विभाग कालिकास्थान, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, निर्वाचन आयोग र रवि लामिछानेलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।

लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने पौडेलको माग छ ।

हाल लामिछानेविरुद्ध सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ ।