काठमाडौँ । सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार ५ सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
उक्त तथ्यांक अनुसार सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ । सन् २०२४ अन्त्य हुन अब एक महिना मात्र बाँकी छ । डिसेम्बरमा करिब ७० हजार पर्यटक आउने बोर्डले अनुमान गरेको छ । यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख १५ हजार हाराहारी मात्रै पर्यटक भित्रिने देखिन्छ ।
नोभेम्बरमा मात्रै एक लाख १४ हजार ५ सय एक पर्यटक आएका छन् । यो अघिल्लो वर्ष सन् २०२३ को सोही महिनाको तुलनामा ५.४० प्रतिशत बढी हो । उक्त वर्षको नोभेम्बरमा एक लाख ८ हजार ६ सय ३० पर्यटक भित्रिएका थिए ।
सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार ३ सय ३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका बोर्डको तथ्यांकमा उल्लेख छ । बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झण्डै १० प्रतिशत मात्रै बढ्ने देखिएको बताए । सन् २०२३ मा १० लाख १४ हजार ८ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका उनले जानकारी दिए ।
बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटक भन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे ।
संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) को छ महिनाको आँकडा अनुसार विश्वव्यापी रूपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ ।
विभिन्न कारणले सन् २०२४ मा प्रक्षेपण गरिएको पर्यटक आगमन लक्ष्य भेट्टाउन कठिन भएको बोर्डका निर्देशक लामिछानेले उल्लेख गर] ।
‘हालसम्मको पर्यटक आगमन हेर्दा विश्वव्यापी रूपमा नेपालको पर्यटक आगमन सकारात्मक देखिन्छ,’ उनले भने, ‘पर्यटनका विभिन्न सूचकलाई विश्लेषण गर्दा सन् २०१९ को भन्दा बढी पर्यटक आउने प्रक्षेपण गरिएको थियो । लामो समयसम्म बोर्डको अन्तर्राष्ट्रिय प्रवर्धन रोकिनु, विमान दुर्घटना र प्राकृतिक विपत्तिलगायत कारणले पर्यटक आगमन सुधार हुन नसकेको अनुमान गरिएको छ ।’
करिब ६ महिना बोर्डको अन्तर्राष्ट्रिय प्रवर्धन रोकिनु, बीचमा विमान र हेलिकप्टर दुर्घटना हुनु, असोजको ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोपछिका घटना र गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १० घण्टा उडान बन्दलगायत कारणले अपेक्षित रूपमा पर्यटक आउन नसकेका बोर्डले विश्लेषण गरेको छ ।
बोर्डको विवरणमा नोभेम्बरमा भारतबाट १९ हजार ९ सय १५ पर्यटक आएका छन् । संयुक्त राज्य अमेरिकाबाट १० हजार ९ सय ८१ र चीनबाट ९ हजार ४ सय ५८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
संयुक्त अधिराज्य बेलायतबाट ६ हजार ५ सय ११, बंगलादेशबाट ५ हजार एक सय ४८, अष्ट्रेलियाबाट ४ हजार ८ सय २९, थाइल्याण्डबाट ४ हजार २ सय ६२, श्रीलंकाबाट ४ हजार ३ सय ९५, जर्मनीबाट ३ हजार ९ सय २६ र फ्रान्सबाट ३ हजार ८ सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
कुन महिनामा कति पर्यटक
मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार ५ सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबरमा एक लाख २४ हजार ३ सय ९३, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आएका तथ्यांकमा उल्लेख छ ।
नोभेम्बरमा एक लाख १४ हजार ५ सय एक, सेप्टेम्बरमा ९६ हजार ३ सय ५, जनवरीमा ७९ हजार एक सय, फेब्रअरीमा ९७ हजार ४ सय २६, मेमा ९० हजार २ सय ११, जुनमा ७६ हजार ७ सय ३६ र अगस्टमा ७२ हजार ७ सय १९ पर्यटक नेपाल आएका छन् ।