काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड २०८१ आर्थिक पत्रकार शरद ओझाले प्राप्त गरेका छन् । सेजनको २८औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ओझालाई १ लाख पुरस्कार राशिको सो अवार्ड प्रदान गरेका हुन् ।
ओझा क्लिकमान्डु डटकममा कार्यरत छन् । उनले बजेटमार्फत सरकारले आयकर ऐनको दफा ५७ मा गरेको हेरफेर र त्यसमा रहेको त्रुटीबारे समाचार लेखेका थिए । सोही समाचारका लागि उनलाई अवार्ड प्रदान गरिएको हो ।
सेजनले शनिबार नै विभिन्न अन्य विधामा समेत आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ । डा. भोला चालिसे लिवरल जर्नाजिलम अवार्ड सेतोपाटी डटकमका भागवत भट्टराईले प्राप्त गरेका छन् ।
प्रिन्ट मिडिया अवार्ड कारोबार दैनिककी कौशिला कुँवरले प्राप्त गरिन् । डिजिटल अवार्ड १२खरी डटकमका कमल धितालले प्राप्त गरे । कार्यक्रममा स्वर्गीय सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता टोलीहरुलाई समेत नगद पुरस्कारबाट सम्मानित गरिएको छ ।