काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो ।
सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका अध्यक्ष स्वतन्त्रप्रताप शाहले हस्ताक्षर गरेका छन् । डेपुटी सीइओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।
बैंकले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएको जनाएको छ । ‘बैंकले खेलकुदलाई अझ उचाइमा पुर्याउन आफ्नो दायित्व बुझेर यो सम्झौता गरी मुख्य प्रायोजन गरेको हो र यो सहकार्यका लागि उत्साहित छौं,’ कार्यक्रममा पोखरेलले भने ।
उनले रोयल्सको एनपीएल यात्रामा सहकार्य गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंक जोडिएकोमा बैंकलाई धन्यवाद दिए । ‘उपाधि जित्ने लक्ष्यमा ग्लोबल आइएमई बैंकको साथले थप बल पुगेको महसुस हामीले गरेका छौं । आशा छ, हामीले उपाधि जितेर थप खुसी दिनेछौं,’ शाहले भने ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखिपुस ६ सम्म एनपीएल हुनेछ । सुदूरपश्चिमका मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् । सुदूरपश्चिमले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ ।
सुदूरपश्चिमको टिममा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनाष बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अली जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (यूएई) रहेका छन् ।