• Menu

रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयो

नेपाल प्रफिट

२०८१ मंसिर १३, १८:२०

रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयो
तस्बिर सौजन्य : रास्वपा सचिवालय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई वयानका लागि काठमाडौँ ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माका अनुसार बिहीबार साँझ ५:१४ बजे बुद्ध एयरको विमानबाट लामिछानेलाई काठमाडौँ ल्याइएको हो ।

उनीविरूद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । उनलाई बयानका लागि यसअघि रुपन्देही लगेर पुनः पोखरा लगिएको थियो ।

जिल्ला अदालत कास्कीको आदेशबाट पटक–पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।