• Menu

गभर्नरपछि बैंक वित्तीय क्षेत्रको नेतृत्वमा बसेकाहरुको ह्वाट्सएप बनाउँदै पैसा असुल्ने प्रयास

नेपाल प्रफिट

२०८० माघ ४, २२:१०

गभर्नरपछि बैंक वित्तीय क्षेत्रको नेतृत्वमा बसेकाहरुको ह्वाट्सएप बनाउँदै पैसा असुल्ने प्रयास

काठमाडौं । ह्वाट्सएप या म्यासेन्जर ह्याक गरेर सर्वसाधारणबाट पैसा असुलेका घटना सार्वजनिक भइरहेका बेला वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंककै गभर्नर र वित्तीय संस्थाका नेतृत्वकर्ताका तस्बिर दुरुपयोग गरी पैसा असुल्ने प्रयास हुन थालेको छ ।

गभर्नर महाप्रसाद अधिकारीको फोटो दुरुपयोग गर्दै ह्वाट्सएप अकाउन्ट खोलेर पैसा उठाउन खोजिएको घटना सार्वजनिक भएको केही दिन नबित्दै वित्तीय संस्थाका नेतृत्वमा बसेकाहरुको पनि फेक ह्वाट्सएप अकाउन्ट बनाएको पाइएको हो ।

गभर्नर अधिकारीपछि आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेको पनि फेक अकाउन्ट बनाएको पाइएको छ ।

आईएमई ग्रुपले ढकालको नाम र तस्बिर दुरुपयोग गरी मोबाइल नम्बर ९८२७२१४५९४ बाट ह्वाट्सएप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गर्ने तथा पैसासमेत माग्ने गरेको पाइएको भन्दै सजग रहन सूचना नै निकालेर अपिल गरेको छ ।

सूचनामा उक्त मोबाइल नम्बर तथा ह्वाट्सएप अकाउन्टबाट अथवा अन्य कुनै पनि शंकास्पद नम्बरबाट कुनै पनि म्यासेज या फोन आएमा तुरुन्त नेपाल प्रहरीको साइबर ब्युरोमा खबर गर्न पनि अनुरोध गरिएको छ ।

त्यस्तै एनआईसी एसिया बैंकका सीईओ न्यौपानेले नाम र तस्बिर दुरुपयोग भएको भन्दै सजग रहन सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल गरेका छन् ।

‘रोशन कुमार नाम राखी मेरो तस्बिर दुरुपयोग गरी ह्वाट्सएप अकाउन्ट बनाएर म्यासेज पठाएको र संवादसमेत गरेको पाइएकाले यस्तो क्रियाकलाप पूर्णरुपमा गलत रहेको जानकारी गराउँदै यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला, ग्राहक महानुभाव र सर्वसाधरणमा अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।

यसअघि गभर्नर अधिकारीको नक्कली ह्वाट्सएप अकाउन्ट बनाएर राष्ट्र बैंककै एक कार्यकारी निर्देशक र उपनिर्देशकसँग पैसा असुलीको प्रयास भएको थियो ।

राष्ट्र बैंकले सूचना जारी गर्दै ‘गभर्नरको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकाले सम्बन्धित सबै सरोकारवालामा अनुरोध’ गरेको छ ।

पैसा असुलीका लागि गभर्नर अधिकारीको फोटो दुरुपयोग गरेको जानकारी प्राप्त भएपछि गभर्नर कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोमा आइतबार उजुरी दिइसकेको छ ।