काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संघीय सांसद रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि थप अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएपछि आइतबार बिहान उनलाई अदालत उपस्थित गराइएको थियो ।
सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन गरेको भन्दै प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उनलाई म्याद थप भएसँगै काठमाडौं ल्याउने तयारी छ । सहकारीको रकम अपचलन गरेको भन्दै लामिछानेमाथि चितवनमा समेत उजुरी परेको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौं जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । सोही आरोपमा छविलाल जोशीलाई काठमाडौं ल्याएर बयान लिइसकिएको छ ।
सहरकारी विशेष छानबिन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सदस्य कुमार रम्तेल र सञ्चालक छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो । तीमध्ये जोशीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सहकारीको रकम अपचलनको मुख्य योजनाकार मानिएका जिबी राई भने फरार छन् ।